रोयटर्स । चीनसँग बढ्दो सैन्य तनावबीच ताइवानमा अमेरिकाबाट खरिद गरिएका नयाँ एफ–१६भी लडाकु विमानमध्ये पहिलो दुईवटा शुक्रबार आइपुग्ने भएका छन्।
ताइवानले सन् २०१९ मा अमेरिकासँग ६६ वटा एफ–१६भी विमान खरिदका लागि करिब ८ अर्ब अमेरिकी डलरको सम्झौता गरेको थियो। लामो समयदेखि आपूर्तिमा ढिलाइ हुँदै आएपछि पहिलो दुई विमान ताइवानको पूर्वी तटीय क्षेत्रमा रहेको ताइतुुङ वायुसेना अड्डामा आइपुग्न लागेका हुन्।
ताइवानका रक्षामन्त्री वेलिङ्टन कुले आगामी दिनमा थप एफ–१६भी विमान पनि आइपुग्ने जानकारी दिएका छन्। ‘वर्षको अन्त्यसम्म यी दुईवटा विमान मात्र आइपुग्ने होइनन्,’ उनले भने।
नयाँ एफ–१६भी विमानमा अत्याधुनिक राडार, एभियोनिक्स तथा हतियार प्रणाली जडान गरिएको छ। यसले चिनियाँ वायुसेनाको निगरानी तथा प्रतिरोधका लागि ताइवानको हवाई क्षमता थप बलियो बनाउने अपेक्षा गरिएको छ।
चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दाबी गर्दै आएको छ। बेइजिङले अमेरिकालाई ताइवानलाई हतियार आपूर्ति नगर्न पटक–पटक चेतावनी दिँदै आएको छ।
अमेरिकाले सन् २०१९ मा स्वीकृत गरेको सम्झौता कार्यान्वयन भएपछि ताइवानसँग रहेका एफ–१६ लडाकु विमानको संख्या २०० भन्दा बढी पुग्नेछ। विमान आपूर्तिमा भने सफ्टवेयरसम्बन्धी समस्यालगायत कारणले ढिलाइ भएको थियो।
ताइवानको विद्यमान एफ–१६ विमानको स्तरोन्नति कार्यक्रम सन् २०२३ मा सम्पन्न भएको थियो। अमेरिकाले कानुनअनुसार ताइवानलाई आफ्नो रक्षा क्षमता कायम राख्न आवश्यक साधन उपलब्ध गराउँदै आएको छ। यद्यपि दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन।

प्रतिक्रिया