काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेशस्तरीय तारा अवार्ड कार्यक्रम सबै प्रदेशमा सम्पन्न भएको छ । ६ प्रदेश तथा बागमतीलाई क र ख मा विभाजन गरी आठ स्थानमा कार्यक्रम आयोजना गरिएको थियो । आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गरी सम्मान पाउन योग्य भएका अभिकर्ताहरुलाई नेपाल लाइफ मेगास्टार, साइनिङस्टार सुपरस्टार र नेपाल लाइफ स्टारगरी चार विधामा सम्मान गरिएको थियो ।

कोशी प्रदेशबाट १९० जना, मधेश प्रदेशबाट १९५ जना, बागमती क बाट २५१ जना, बागमती ख बाट ९१ जना, गण्डकी प्रदेशबाट ५७ जना, लुम्बिनी प्रदेशबाट १९० जना, कर्णाली प्रदेशबाट २८ जना, सुदूरपश्चिम प्रदेशबाट ६२ जना गरी जम्मा १०६४ जना सम्मानित भएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रवीणरमण पराजुली, नेशनल सेल्सहेड उमापति पोखरेल, एजेन्सी सर्भिस विभागकी प्रमुख सुनिता पोखरेल, सम्बन्धित प्रदेशका प्रमुखहरु, पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष ओमबहादुर केसी तथा पेशागत अभिकर्ता संघ, बीमक, नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कार्यक्रममा उनीहरुलाई सम्मान गरेका थिए ।

सोही कार्यक्रममा पुरस्कृत तथा मोटिभेशनल कार्यक्रममा सहभागी हुन योग्य भएका अभिकर्ताहरुलाई मोटिभेशनल स्पिकर किशु झाले बीमा बिक्रीकला सम्बन्धि प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले पेशागत बीमा अभिकर्ता संघ नेपालसँग कम्पनीले दुई दशकदेखि विभिन्न विषयमा सल्लाह र छलफल गर्दै सहकार्य गर्दै आएको बताए । व्यक्तिभन्दा संस्थागत सहकार्यलाई प्राथमिकता दिँदै नेतृत्वमा जो आए पनि संघसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ थियो।
कम्पनीका नेशनल सेल्स हेड उमापति पोख्रेलले कम्पनीले तय गरेको लक्ष्य पूरा गर्न आगामी दिनमा पनि साथ दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओम केसीले बीमा ऐन, २०७९ कार्यान्वयनमा आएपछि अभिकर्ताका केही अधिकार तथा विषयमा परिवर्तन आएको बताए । नियमावलीमा विभिन्न सुधारका लागि संघले पहल गरेको र अझै छुटेका विषयलाई सम्बोधन गर्न कार्यदल गठन गर्न सफल भएको उनले जानकारी दिए । आगामी २०८४ मा बीमा ऐन संशोधनको अवसरमा बाँकी विषयलाई समेत सुधारका लागि पहल गरिने उनको भनाइ थियो।
पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले संगठनलाई थप व्यवस्थित र समावेशी बनाउँदै अभिकर्ता तथा बिमितको हितमा कम्पनीसँग सहकार्य अघि बढाइएको बताए । अभिकर्ताले सहज रूपमा काम गर्न सक्ने वातावरण निर्माणका लागि कम्पनीसँग निरन्तर छलफल र समन्वय भइरहेको उनले बताए।
अधिकारीले संगठन तथा कम्पनीसँग सम्बन्धित समस्या समाधानका लागि शाखा, प्रदेश र केन्द्रीय तहमा क्रमशः पहल गरिने बताए। संगठन ठूलो हुँदै जाँदा केही समस्या देखिन सक्ने भएपनि त्यसको समाधान संस्थागत संरचनामार्फत गरिने भन्दै उनले अभिकर्तालाई आफ्नो काममा निरन्तर लाग्न आग्रह गरे।




प्रतिक्रिया