चोलेन्द्रलाई नियन्त्रणमा लिनुको कारण र कानुनी आधार खुलाउन सांसदहरूको माग


काठमाडौँ । सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा शून्य समयमा भाग लिँदै उनीहरूले जबरालाई नियन्त्रणमा लिइएको घटनाको कारण, कानुनी आधार र सरकारको धारणा संसदमार्फत स्पष्ट गर्न सभाअध्यक्षमार्फत माग गरे ।

सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सभाध्यक्षमार्फत सरकारसँग स्पष्ट जवाफ माग गरे ।

सांसद महन्थ ठाकुर र रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीप्रति विरोध जनाए । उनीहरूले यसबारे गृहमन्त्रीले सदनमार्फत स्पष्ट जवाफ दिनुपर्ने उनीहरूको माग थियो ।

पूर्वप्रधानन्यायाधीश जबरालाई असोज ११ गते राति काठमाडौँको महाराजगञ्जस्थित निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिनुको कारण तत्काल सार्वजनिक नगरेको भन्दै सभा सदस्यहरूले उहाँलाई सोधपुछपछि घरमै सुरक्षा दिनेगरी छाडिएको सार्वजनिक विवरणबारे सरकारसँग जानकारी माग गरेको हो ।

बैठकमा सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे । .