काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले सरकारको कार्यशैलीलाई लिएर प्रतिनिधिसभामा प्रश्न उठाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद पोखरेलले प्रधानमन्त्रीको सरकार सञ्चालन शैलीमाथि व्यङ्ग्य गर्दै सरकारको स्वरूप नै स्पष्ट हुन नसकेको टिप्पणी गरेका हुन् ।
उनले प्रधानमन्त्री संसदमा बहुमत प्राप्त दलका संसदीय दलका नेता भएकाले सरकार संवैधानिक संरचनाअनुसार चलेको देखिए पनि व्यवहारमा फरक अवस्था देखिएको दाबी गरे ।
‘आफ्नै दलको बैठकमा नजाने भएकाले यो निर्दलीय सरकारजस्तो लाग्छ,’ पोखरेलले भने । सर्वदलीय छलफलमा समेत प्रधानमन्त्री सहभागी नहुने गरेको भन्दै उनले सरकार एकदलीय शैलीमा चलेको टिप्पणी गरे। सरकार सञ्चालनमा कुनै भूमिगत समूहको प्रभाव रहेको आरोप लगाउँदै उनले त्यसलाई पञ्चायती शैलीसँग समेत तुलना गरे ।
राष्ट्रपतिलाई समेत बेवास्ता गर्ने कार्यशैली देखिएको भन्दै उनले व्यङ्ग्यात्मक रूपमा सरकारलाई ‘श्री ३ महाराज’को शैलीसँग तुलना गरे। उनले भने, ‘भूमिगत गिरोहबाट चल्ने भएकाले यो पञ्चायती सरकारजस्तो देखिन्छ । राष्ट्रपतिलाई समेत नजरअन्दाज गर्ने कार्यशैली हेर्दा यो श्री ३ महाराजजस्तो लाग्छ । ‘खासमा बालेन्द्र साह नेतृत्वको यो कस्तो सरकार हो ?’
पोखरेलले सरकारको कार्यशैलीमा राजनीतिक दलहरूबीच आवश्यक समन्वय नदेखिएको बताए। सरकार स्वेच्छाचारी ढङ्गले अघि बढिरहेको आरोप लगाए ।

प्रतिक्रिया