सर्‍यो कांग्रेस महाधिवेशन, असोज १८ गते उद्घाटन


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सरेको छ । अब महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ । यसअघि कांग्रेसको महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको थियो।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको उद्घाटन समारोहको नयाँ मिति सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिअनुसार वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् । हाल प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी छन् ।

देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

सोही परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटन समारोहको मिति परिवर्तन गरिएको कांग्रेसले जनाएको छ ।