रायो साग र चिनीको मूल्य कति, सांसद शर्माले सुनाइन् मूल्यसूची


काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बलावती शर्माले महँगी अचाक्ली बढेको बताएकी छन् ।

शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली भएको बताइन् । नेकपा सांसद शर्माले आफू आज बिहान तरकारी किन्न बजार गएको बताइन् । आफूले बुुझेको बजार मूल्य पनि संसद्मा सुनाइन् ।

उनले भनिन्, ‘रायो साग प्रतिकेजी २७० पुगेछ । चिनी प्रतिकेजी १७० । आलु, प्याज, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन आकासिएको छ ।’

कुखुराको मासु प्रतिकेजी झण्डै ५०० र खसीबोकाको मासु प्रतिकेजी १७ सय भन्दा माथि रहेको पनि उनले बताइन् । ‘किन यति महँगो भयो भनेर सोध्यो भने सरकार र सरकार निकट व्यक्तिहरुको डाइरेक्ट जवाफ हुन्छ ३५ वर्ष के गर्यौ ? अहिले त मध्यपूर्वको युद्ध र बाटो बन्द भएर हो नि । बाहिर कारणले हो भनिन्छ.’ उनले भनिन् ।

ग्यासको हाहाकार कायमै रहेको उनको भनाइ छ । चाडबाडको मुखमा मूल्य उकालो लागेको भन्दै कालोबजारी र मूल्य नियन्त्रण गर्ने निकायले के गरिरहेका छन् भनेर उनले प्रश्न पनि गरिन् ।