काठमाडौं। झापामा आमरण अनशन बसिरहेका जेनजी घाइते विवेक दनुवारलाई काठमाडौं ल्याएर वीर अस्पतालमा भर्ना गरिएको छ ।
जेनजी आन्दोलनमा गोली लागेका उनलाई उपचारका लागि काठमाडौं पठाइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । उनी भदौ ३० गतेबाट बिर्तामोडको मुख्य चोकमा ब्यानर राखेर आमरण अनशनमा बसेका थिए । प्रशासनसँग पटक पटक भएको वार्तामा सहमति नभएपछि उनले अनशन तोड्न मानेका थिएनन् ।
अनशनमा उनको स्वास्थ्य अवस्था बिग्रिएको थिएन । तर जेनजी आन्दोलनमा गोली लागेको कारण उपचारका लागि काठमाडौं पठाइएको प्रजिअ पोखरेलको भनाइ छ । उनलाई थप उपचार आवश्यक भएको हुँदा पठाइएको उनले बताए ।
दनुवारले आन्दोलनका क्रममा घाइते भएका झापा र मोरङका युवाहरूको उपचार, क्षतिपूर्ति, परिचयपत्र तथा दीर्घकालीन पुनःस्थापनाको माग गरेका थिए ।
आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका युवाहरूका माग राज्यले सम्बोधन नगरेको भन्दै दबाबस्वरूप उनले अनशन सुरु गरेका हुन् । उनीलाई अन्य घाइतेले पनि अनशनमा साथ दिने गरेका थिए ।
भदौ २४ गते दिउँसो करिब १२ः३० बजे बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अगाडि भएको घटनामा गोली लागेर दनुवार घाइते भएका थिए । उनको पेटमा गोली लागेर दुईवटा आन्द्रा चुँडिएको थियो। सोही घटनामा गोली लागेर अर्जुनधाराका गोपाल सेढाइको घटनास्थलमै मृत्यु भएको थियो ।
दनुवारको उपचारका क्रममा बिएन्डसी मेडिकल कलेजमा उनको शल्यक्रिया गरिएको थियो। पेटमा २९ वटा टाँका लगाइएको र करिब १२ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको उनले बताएका छन् । अहिले पनि हिँडडुल गर्न तथा बोल्नसमेत कठिनाइ हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया