काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले आर्थिक अभावका कारण गर्भवती महिलाले अस्पतालबाट उपचार नपाई सडकमा बच्चा जन्माउनुपर्ने अवस्था राज्यका लागि गम्भीर प्रश्न भएको बताएकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद हमालले अस्पतालले पैसा तिर्न नसकेको भन्दै गर्भवतीलाई बाहिर निकाल्ने घटना केवल एउटा परिवारको समस्या नभएको बताइन् । उनका अनुसार यस्तो घटनाले मुलुकको स्वास्थ्य प्रणाली र राज्यको दायित्वमाथि नै प्रश्न उठाएको छ ।
‘पैसा तिर्न नसकेको कारण गर्भवती महिलालाई अस्पतालबाट निकालेर अस्पतालकै गेटबाहिर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु केवल एउटा परिवारको पीडा होइन,’ उनले भनिन्, ‘यो हाम्रो स्वास्थ्य प्रणाली र राज्यको जिम्मेवारीमाथिको गम्भीर प्रश्न हो ।’
हमालले नागरिकको जीवनभन्दा अस्पतालको बिललाई प्राथमिकता दिने अवस्था अन्त्य गर्न सरकारसँग माग गरिन् । विपन्न तथा जोखिममा रहेका गर्भवती महिलाले उपचार नपाएर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो ।
उनले यस्ता घटनाको छानबिन र अस्पतालको लापरबाहीबारे प्रश्न उठाउँदा त्यसलाई राजनीतिक विषय बनाएर ‘सरकार गिराउने खेल’ भन्ने प्रवृत्तिको समेत विरोध गरिन् ।
‘सरकारको आलोचना गर्नु सरकार गिराउने खेल होइन,’ हमालले भनिन्, ‘नागरिकको जीवन बचाउन सरकारलाई जवाफदेही बनाउनु प्रतिपक्षको संवैधानिक जिम्मेवारी हो ।’
अस्पतालको सेवा र विपन्न नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर बन्नुपर्ने भन्दै उनले घटनाको छानबिन र दोषीमाथि आवश्यक कारबाही गर्नसमेत माग गरिन् ।

प्रतिक्रिया