इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब


वासिङ्टन । इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी आएको र प्रयोग भएका हतियार पुनःआपूर्ति गर्न अमेरिकी रक्षा उद्योगमा दबाब बढेको रक्षा विभागका महानिरीक्षकको प्रतिवेदनले जनाएको छ।

अमेरिकी कङ्ग्रेसमा बुझाइएको प्रतिवेदनअनुसार ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गत फेब्रुअरी २८ देखि जुन ३० सम्मको सैन्य अभियानको अनुमानित लागत ३३ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ। त्यसमध्ये २२ अर्ब ३० करोड डलर खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ।

अभियानका क्रममा ठूलो परिमाणमा हतियार प्रयोग गरिएपछि अमेरिकी रणनीतिक भण्डारमा उल्लेख्य कमी आएको प्रतिवेदनले जनाएको छ। युद्धका क्रममा चार एफ–१५ लडाकु विमान र ३० एमक्यू–९ रिपर ड्रोन नष्ट भएका छन्। त्यस्तै, एउटा एफ–३५ लडाकु विमान र सात केसी–१३५ ट्याङ्कर विमान क्षतिग्रस्त भएको उल्लेख छ।

यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हतियार भण्डारमा कमी आएको विषयमा व्यक्त चिन्तालाई अस्वीकार गर्नुभएको छ। उनले अमेरिकासँग ‘लगभग असीमित’ गोला–बारुद रहेको दाबी गर्दै सोमबार अमेरिकाले इतिहासकै उत्कृष्ट र ठूलो परिमाणमा हतियार उत्पादन गरिरहेको बताए।

यसअघि अमेरिकी सञ्चारमाध्यम सीएनएनले पनि लामो दूरीका क्षेप्यास्त्र तथा हवाई प्रतिरक्षा प्रणालीमा प्रयोग हुने अवरोधक क्षेप्यास्त्रको अभावले अमेरिकी सैन्य रणनीतिमा असर पारेको जनाएको थियो। अमेरिकी सेनाले थाड हवाई प्रतिरक्षा प्रणालीका करिब ८० प्रतिशत अवरोधक क्षेप्यास्त्र प्रयोग गरिसकेको बताइएको छ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार युद्ध सुरु भएको पहिलो २४ घण्टामै अमेरिकी सेनाले एक हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरेको थियो। तीव्र सैन्य कारबाहीका कारण ठूलो मात्रामा क्षेप्यास्त्र, ड्रोन र अन्य हतियार प्रयोग भएको जनाइएको छ।

यसैबीच, इरानी आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इराक, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य आधारका सयौँ संरचनामा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

ती सैन्य संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भारमा लाग्ने लागत भने हालको ३३ अर्ब ४० करोड डलरको अभियान खर्च अनुमानमा समावेश नगरिएको जनाइएको छ।