भोटेकोसी बाढीमा एक हजार ३९९ शव फेला


काठमाडौँ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबार बिहानसम्म फेला परेका शवमध्ये ५४४ पुरुष, ३३६ महिला र ५१९ वटा आंशिक अङ्ग रहेका जानकारी दिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीपछि हालसम्म चार हजार ८९ जना बेपत्ता छन् । बेपत्ता हुनेमा दुई हजार ९०७ पुरुष, ५७२ महिला, २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला छन् ।

बाढीमा परी घाइते भएका नौ हजार २८७ जनाको उद्धार गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए । उनका अनुसार फेला परेका शवको पहिचानका लागि ‘डिएनए’ नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार २३० शव व्यवस्थापन गरिएको छ ।

‘फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार २३० शव व्यवस्थापन गरिएको छ । पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको छ’, प्रवक्ता काफ्लेले भने ।

प्रहरीका अनुसार शव पहिचानका लागि मृतकका शवबाट एक हजार २८६ र बेपत्ता व्यक्तिका आफन्तबाट एक हजार ८८९ डिएनए नमुना सङ्कलन गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताए ।

यसैगरी, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल तीन हजार ४४० जना रहेको प्रहरीले जनाएको छ ।