वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सातजनाले विशेष अदालतबाट सफाइ पाएका छन् । सोमबार विशेषका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल तथा डिल्लीरत्न श्रेष्ठको इजलासले कीर्ते कागजातका आधारमा जन्मदर्ता र नागरिकता बनाएको मुद्दामा सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २५ जेठमा सिंहसहित तीन कर्मचारी, तत्कालीन वडाध्यक्ष र वडासचिव तथा नागरिकता लिने युवतीविरुद्ध गलत लिखत तयार पारेको सम्बन्धि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले वीरगंज महानगरपालिका– ३ का तत्कालीन वडासचिव भिखारी राय, कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई तथा पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललगायविरुद्ध मुद्दा दायर गरेकामा उनीहरूले पनि सफाइ पाएका छन् ।
मेयर सिंहले रिता भट्टराईलाई आफ्नो छोरी रुबिना श्रेष्ठ भएको भन्दै झुटो विवरण प्रस्तुत गर्दै सूचकको रूपमा फाराम भरेर वीरगंज महानगरपालिका– ३ को कार्यालयमा जन्मदर्ताका लागि निवेदन दिएको दाबी थियो। सोही आधारमा ०७१ कात्तिक २० गते जन्मदर्ता प्रमाणपत्र जारी गरिएको थियो ।

प्रतिक्रिया