रोयटर्स । इरान र फारसको खाडी क्षेत्रका देशबीच हर्मुज जलडमरु मार्ग सञ्चालनसम्बन्धी प्रस्तावमा आज हुने भनिएको बैठक स्थगित भएको छ। बैठक स्थगित भएपछि मध्यपूर्वमा कूटनीतिक समाधानको प्रयास तत्काल कमजोर बनेको देखिएको छ।
ओमानका विदेशमन्त्री सय्यद बद्र अल्बुसैदीले आइतबार बैठक ‘सहमतिको हितमा’ स्थगित गरिएको जानकारी दिएका छन्।
इरानले खाडीका अरब राष्ट्रसँगको बैठकमा हर्मुज जलडमरु हुँदै हुने समुद्री आवागमन व्यवस्थापनका लागि ओमानसँग भएको सम्झौता प्रस्तुत गर्ने तयारी गरेको थियो। इरानको फार्स समाचार संस्थाका अनुसार केही क्षेत्रीय देशको आग्रहमा बैठक स्थगित गरिएको हो। नयाँ मिति तय गर्न इरान र ओमानबीच समन्वय हुने जनाइएको छ।
बैठक स्थगितसँगै विश्वव्यापी तेल आपूर्तिबारे चिन्ता पनि बढेको छ। शुक्रबार ड्रोन आक्रमणबाट क्षतिग्रस्त साउदी अरेबियाको करिब १,२०० किलोमिटर लामो पूर्व–पश्चिम तेल पाइपलाइन सप्ताहन्तभर बन्द रह्यो। उक्त पाइपलाइन हर्मुज जलडमरुबाट बचेर मध्यपूर्वको तेल निर्यात गर्ने प्रमुख मार्ग हो । यस घटनाक्रमपछि सोमबार बजार खुलेसँगै तेलको मूल्य बढेको छ।
यसैबीच, हर्मुज जलडमरुमा पनि पानीजहाजमाथिको जोखिम कायम रहेको छ। बेलायती समुद्री सुरक्षा निकाय यूकेएमटीओका अनुसार जलडमरु पार गरिरहेको एउटा पानीजहाजमा प्रक्षेप्य पदार्थ प्रहार हुँदा आगलागी भएको थियो। चालक दलका सदस्यलाई जहाजबाट बाहिर निकालिएको छ।
इरानले भने आफ्नो तट नजिकै एक व्यावसायिक पानीजहाजमाथि भएको आक्रमणमा एक जनाको मृत्यु र चार जना चालक दलका सदस्य घाइते भएको जनाएको छ।
विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलडमरुमा बढ्दो तनावका कारण विश्व ऊर्जा आपूर्तिमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ।

प्रतिक्रिया