जोखिममा रहेका हिमताल ‘ब्लास्टिङ’ गरेर जलसतह घटाउने सरकारको तयारी


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

“जोखिममा रहेका हिमताल ‘ब्लास्टिङ’ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ । जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले कटाएर जोखिम कम गर्नुपर्छ, आवश्यक तयारी सकिएपछि निर्णय लिनेछौँ,’ उनले भने ।

जोखिम घटाउने सम्बन्धमा विज्ञहरुसँग परामर्श लिइरहेको जानकारी दिँदै ऊर्जामन्त्रीले जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिइने बताए । मन्त्री श्रेष्ठकाअनुसार ग्रीन क्लाइमेट फण्ड (जिसिएस) बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र राष्ट्र सङघीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त अध्ययनअनुसार नेपालमा २१ हिमताल जोखिमयुक्त छन् । कोशी र गण्डकी क्षेत्रमा चारवटा अतिउच्च जोखिमयुक्त हिमताल छन् ।