नवलपरासी । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट भएको अनुरोध बमोजिम एमसिए–नेपालले विद्युुत् प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्यलाई तीव्रता प्रदान गरेको थियो र निर्धारित समयसीमाभित्रै उक्त कार्य सम्पन्न गरेको छ ।

प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित न्यू बुटवल सबस्टेसनमा आइतबार आयोजित समारोहमा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपालको सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले यस उपलब्धिको महत्वमाथि प्रकाश पार्दै नेपाल, संयुक्त राज्य अमेरिका र एमसीसीबीचको साझेदारीप्रति कृतज्ञता व्यक्त गरे ।
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यस उपलब्धिका लागि एमसिए–नेपाललाई बधाई ज्ञापन गर्दै भने, ‘यस प्रसारण लाइनको निर्माण नेपालको ऊर्जा क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि हो। नेपाल सरकारको अनुरोधलाई सम्बोधन गर्दै समयसीमाभित्रै निर्माण कार्य पूरा गर्नका लागि एमसिए–नेपालले गरेको प्रयासको हामी सराहना गर्छौँ । यस उपलब्धिले नेपाल र भारतबीचको सुदृढ विद्युत् सञ्जालबाट प्राप्त हुने बृहत् लाभ हासिल गर्ने दिशामा हामी एक कदम अगाडि बढेका छौँ।’

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो उपलब्धिले नेपाल सरकारका प्राथमिकताहरू पूरा गर्नेसन्दर्भमा एमसिए–नेपालको प्रतिबद्धतालाई उजागर गरेको बताए ।
‘सीमापार प्रसारण लाइनको यस १८ किलोमिटर लामो यस महत्वपूर्ण खण्डको निर्माण कार्य सम्पन्न गर्न सफल भएकोमा हामीलाई गर्व लागेको छ। नेपाल सरकारले यस निर्माण कार्यलाई तीव्रता दिन गरेको आग्रह अनुसार एमसिए–नेपालले छोटो समयसीमाभित्रै निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी तथा साझेदारहरूलाई एकीकृत गरी निर्माण कार्य अगाडि बढाएको थियो’, उनले भने, ‘अब हामी यस लाइनमा विद्युत् प्रवाह गरी अन्ततोगत्वा नेपाल र भारत एवं बृहत्तर क्षेत्रबीच विद्युत् सञ्जाल र ऊर्जा सहकार्य सुदृढ पार्ने दिशामा बाँकी कार्य सम्पन्न भएको हेर्ने प्रतीक्षामा छौँ ।’
कार्यक्रममा एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण लाइनको नेपालतर्फको खण्ड सफलतापूर्वक सम्पन्न गर्न योगदान दिनेहरूप्रति आभार व्यक्त गरे ।

नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन खण्ड पूरा भएबाट सीमापार प्रसारण लाइन अन्तर्गत एमसिए–नेपालबाट हुनुपर्ने निर्माण कार्य सम्पन्न भएको छ । अब यो प्रसारण लाइनमा विद्युत् प्रवाह गरी यसलाई सञ्चालनमा ल्याउनुपूर्व नेपाल–भारत सीमापार विद्युत प्रवाह गर्न आवश्यक कार्य एवं स्वीकृति प्राप्ति लगायतका बाँकी कामलाई अगाडि बढाइनेछ।
यो १८ किलोमिटर खण्ड एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाको एक अंश हो । यस आयोजना अन्तर्गत ३१५ किलोमिटर लामो उच्च–भोल्टेजयुक्त प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माणका साथै विद्युत् नियमन आयोग र नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेका छन्।
नेपालमा विद्युतको उपलब्धता र विश्वसनीयतामा सुधार ल्याउनुका साथै ऊर्जा सुरक्षा, भावी विद्युत् उत्पादन र सीमापार विद्युत् व्यापारलाई टेवा पुर्याउन आवश्यक प्रसारण सञ्जाललाई सुदृढ बनाउने उद्देश्यले यो आयोजना तयार पारिएको हो । तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर थम्प्सनले २०८२ मंसिर १० गते यो प्रसारण लाइनको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया