नारायण गाउँले ।
दुई हप्तादेखि दुई सय मिटरको ट्रयाक खुल्न नसक्दा देशको राजधानीसँग आधा भूगोलको सम्बन्ध विच्छेद भएको छ । सडक र कनेक्टिभिटीको महत्त्व धेरैलाई स्मरण भएको हुनुपर्छ । सिङ्गो देशका सडक यस्तै भीर, पहरा र नदी किनार हुँदै बनेका छन् । विगत बीस–तीस वर्षमा अभूतपूर्व स्तरमा देशभर सडक र पुलहरू बनेका थिए । मध्यपहाडी लोकमार्ग होस् या कालीगण्डकी करिडोर, निकै कठीन इन्जिनियरिङ र सीमित साधनस्रोतले निर्माण भएका पूर्वाधार हुन् । आज काठमाडौँलाई तराईसम्म जोड्ने थुप्रै वैकल्पिक मार्ग बनिसकेका या बन्ने क्रममा छन् । साना सवारी साधनले त पृथ्वीराजमार्ग प्रयोग गर्न छोडेको धेरै भयो ।
हिजो अति विकट र अगम्य लाग्ने भीरपाखासम्म आज गाडी पुग्छन् । झोलुङ्गे पुलमा त नेपाल विश्वकै पहिलो नम्बरमा आउने स्थिति छ । हाम्रो जस्तो भौगोलिक चुनौती भएको देशमा पानी, बिजुली, टेलिफोन र सडक जस्ता अत्यावश्यक पूर्वाधार हरेक कुनासम्म पुर्याउन पक्कै सजिलो र छिटो हुँदैन । एउटा नदीको करिडोरमा मात्रै दर्जन जति विद्युत् गृह निर्माण भएका रहेछन् । तिनले स्थानीय अर्थतन्त्र र रोजगारी त सिर्जना गरेकै थिए, देशलाई उज्यालो बनाउन पनि पक्कै योगदान गरेका थिए ।
अन्य देशको तुलनामा नेपालमा प्रतिकिलोमिटर सडक निर्माण लागत निकै बढी पर्छ । पहाड काट्न पर्छ । पहिरो नजाओस्, नभासियोस् भनेर तलमाथि सबलीकरण गर्नपर्छ । हरेक बर्खाले ठूलो क्षति पुर्याउने हुनाले त्यसको मर्मतसम्भार पनि खर्चिलो छ । अन्य पूर्वाधारमा खर्च गर्ने पैसा त्यहीँ जान्छ ।
यो स्तरको कनेक्टिभिटी र सडक सञ्जाल बीस–तीस वर्ष अघि मात्रै पुर्याउन सकिएको भएपनि पहाडी गाउँमा ठूलो जनसङ्ख्या रोकिने र देशको अर्थतन्त्र बेग्लै हुने थियो । आज सडक छ तर गाउँ रित्ता देखिन्छन् । तराईको उर्वर खेतीयोग्य जमीनमा बस्तीको चाप छ । अलिकति ढिलो भएकै हो । तर हुँदै नभएको भन्नेचाहिँ होइन । आज पनि राम्रो शिक्षा र स्वास्थ्यका लागि राजधानीसम्म धाउनुपर्ने अवस्थाचाहिँ अझै दुःखलाग्दो छ । धेरै कÞुरा गर्न बाँकी छ ।
बन्दै गरेको यो डाइभर्सन अस्थायीजस्तो देखिन्छ । यसअघि हुने गरेजस्तै यसले समस्या समाधान गर्नेभन्दा पनि पर धकेल्ने काममात्रै गर्छ । तर तत्कालका लागि सबैभन्दा छिटो र सस्तो विकल्प यही होला । ग्यासदेखि उपभोग्य सामग्रीसम्म चरम महँगी र अभाव खेपिरहेका राजधानीका जनतालाई यो सडक तत्काल सुचारु गरेर राहत दिन आवश्यक पनि छ । दीर्घकालीन समाधानको सबैभन्दा किफायती विकल्प के होला ?

प्रतिक्रिया