वर्ल्डलिंकले ल्यायो साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै ‘बिज-२४’


काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै ‘बिज२४’ (Biz24) व्यवस्थापित वाइफाइ सेवा (Managed Wi-Fi Solution) सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार व्यवसायिक परिसरमा भरपर्दो वाइफाइ कभरेज, क्लाउडमार्फत नेटवर्क व्यवस्थापन र प्राथमिकतायुक्त प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले सेवा ल्याइएको हो।

साना तथा मध्यम व्यवसाय (Small and Medium Enterprises–SME) सञ्चालकसँगको प्रत्यक्ष छलफल तथा विभिन्न चरणमा गरिएको स्थलगत परीक्षणपछि बिज-२४ तयार पारिएको कम्पनीले जनाएको छ। एउटै राउटरमा निर्भर रहँदा व्यवसायिक परिसरका सबै क्षेत्रमा समान रूपमा वाइफाइ नपुग्ने, महत्वपूर्ण समयमा इन्टरनेटमा समस्या आउने तथा नेटवर्कको अवस्थाबारे पर्याप्त जानकारी नहुने समस्यालाई लक्षित गरी सेवा विकास गरिएको हो।

वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीशकृष्णराज भण्डारीका अनुसार नेपालका धेरै साना तथा मध्यम व्यवसायले अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट कनेक्सनमा निर्भर रहँदा नेटवर्क व्यवस्थापनसँग सम्बन्धित समस्या भोग्दै आएका छन्। बिज२४ ले व्यवसायको भौतिक संरचना, क्षेत्रफल र आवश्यकताका आधारमा वाइफाइ नेटवर्कको योजना बनाउन तथा व्यवस्थापन गर्न सहयोग गर्ने उनले बताए।

कम्पनीका अनुसार बिज-२४ अन्तर्गत व्यवसायिक परिसरको आकार र संरचनाअनुसार वाइफाइ कभरेज विस्तार गर्न सकिनेछ। क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो, सहकार्य कार्यालय (Co-working Office) लगायतका व्यवसायलाई लक्षित गरी सेवा तयार गरिएको छ।

सेवामा प्राथमिकतायुक्त प्राविधिक सहयोग (Priority Support) समेत समावेश गरिएको छ। इन्टरनेट अवरोधका कारण व्यवसायको नियमित काम प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राखी ग्राहकलाई प्राथमिकताका आधारमा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ। थप जानकारीका लागि ०१–५९७००४० मा सिधा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

बिज२४ मा व्यवसायिक आवश्यकता बढ्दै जाँदा नेटवर्क विस्तार गर्न सकिने सुविधा पनि रहेको कम्पनीको भनाइ छ। उच्च गतिको वाइफाइसँगै सार्वजनिक स्थिर आईपी (Public Static IP) उपलब्ध हुने भएकाले सीसीटीभी, विभिन्न सफ्टवेयर तथा अन्य सूचना प्रविधिसम्बन्धी सेवा सञ्चालनमा समेत यसको प्रयोग गर्न सकिनेछ।

बिज२४ ‘राइज’, ‘ग्रो’ र ‘प्रो’ गरी तीन तहमा उपलब्ध हुनेछ। यी योजनामा २०० एमबीपीएसदेखि १ जीबीपीएससम्मको इन्टरनेट गति उपलब्ध रहेको कम्पनीले जनाएको छ। सेवाको वार्षिक मूल्य १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) बाहेक ३० हजार रुपैयाँबाट सुरु हुन्छ।

सबै बिज-२४ योजनामा व्यवसायिक स्तरको राउटर (Business-Grade Router), सार्वजनिक स्थिर आईपी र प्राथमिकतायुक्त प्राविधिक सहयोग समावेश गरिएको छ। सेवा नयाँ ग्राहक तथा इन्टरनेट सेवा नवीकरण गर्ने दुवै ग्राहकका लागि देशभर उपलब्ध रहेको वर्ल्डलिंकले जनाएको छ।

वर्ल्डलिंकले आफ्नो व्यवसायिक सेवाअन्तर्गत व्यवस्थापित वाइफाइलगायत कनेक्टिभिटी र सूचना प्रविधिसम्बन्धी विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ।