डा. गोविन्दशरण उपाध्याय
हिजोआज पत्रपत्रिकामा एउटा समाचारले बडो गौरवपूर्ण स्थान पाएको छ ‘एसियाली देशहरू मध्ये नेपाली अंग्रेजीमा सबैभन्दा अगाडी’ ! यो समाचार यसरी छापिंदै छ मानौं राष्ट्रसंघले नेपाली भाषालाई आफ्ना प्रमुखभाषामा स्थान दिने निर्णय गर्यो !! हो, यो पढ्दा र सुन्दा लाग्छ – हामी नेपालीहरू निकै आधुनिक भइसकेका छौँ । आधुनिकताको हाम्रो एउटा सुन्दर मापदण्ड पनि तयार भएको छ – आफ्नो बच्चाले नेपाली नजानोस्, अंग्रेजीमा ‘मम्मी, आई डोन्ट नो नेपाली’ भन्न सकोस् । त्यसपछि आमाबुबाको छाती दुई इन्च फुल्छ । उनीहरू गर्वका साथ भन्छन् – ‘हाम्रो बच्चालाई नेपाली आउँदैन नि ! अंग्रेजी मात्रै बोल्छ ।’ मैले यस्ता केही अभिभावकहरू भेटेको छु । दया लाग्छ र साथै के यसले नेपाल युकेजस्तै विकसित बन्ने बाटोमा छ भन्ने प्रश्न पनि आउँछ !
वाह ! कति ठूलो उपलब्धि ! बच्चाले गणित नजानेको भए चिन्ता हुन्थ्यो । विज्ञान नजानेको भए ट्युसन खोजिन्थ्यो । इतिहास नजानेको भए शिक्षकलाई दोष दिइन्थ्यो । तर बच्चाले आफ्नै मातृभाषा नजानेको अवस्थामा भने कतिपय अभिभावक खुसी हुन्छन् । किनभने हाम्रो आधुनिकताको एउटा विचित्र सिद्धान्त छ—आफ्नो भाषा बिर्सन सक्नु भनेको अन्तर्राष्ट्रिय हुनु हो । सायद भोलि कसैले “मेरो छोराले आफ्नी हजुरआमासँग कुरा गर्न सक्दैन” भनेर पनि पदक माग्ला !
अंग्रेजी भाषा जान्नु राम्रो हो । यसमा बहस नै छैन । अंग्रेजी मात्रै किन, चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनी, जापानी, अरबी र संसारका अरू भाषा पनि सिक्नु राम्रो हो । एउटा नयाँ भाषा सिक्नु भनेको एउटा नयाँ संसारसँग परिचित हुनु हो । तर विदेशी भाषा सिक्नु र आफ्नो भाषा त्याग्नु एउटै कुरा होइन । जुत्ता लगाउनु आधुनिकता हुन सक्छ, तर खुट्टा काटेर जुत्ता लगाउनु आधुनिकता होइन । हाम्रो समस्या अंग्रेजी होइन । समस्या अंग्रेजीप्रति हाम्रो मानसिक दासत्व हो । हाम्रो शिक्षा प्रणालीले आफ्नो खुट्टा काटेर विदेशी जुता लगाउने सुनिश्चित गरेको छ । खुट्टा काटेर जुता लगाउने मानसिकता बलियो बनाएको छ । समस्या यही छ ।
अंग्रेजीलाई ज्ञानको साधन बनाउनु ठीक हो । अंग्रेजीलाई प्रतिष्ठाको मुकुट बनाउनु समस्या हो । अझ आफ्नो मातृभाषालाई हीन ठानेर अंग्रेजी बोल्न पाएकोमा गौरव गर्नु त मानसिक उपनिवेशीकरणको सुन्दर नमुना हो । हामीकहाँ एउटा नयाँ वर्ग जन्मिएको छ – ‘अंग्रेजी स्वाँठ’ वर्ग । यस वर्गका मानिसहरू अंग्रेजी बोल्न सक्छन् कि सक्दैनन्, त्यो दोस्रो कुरा हो । तर अंग्रेजी बोलेको अभिनय गर्न भने उनीहरू निकै सफल छन् । नेपाली वाक्यका बीचमा अनावश्यक अंग्रेजी शब्द हालेर बोल्न पाए उनीहरूलाई बौद्धिकताको नशा चढ्छ ।
उदाहरणका लागि – ‘एक्चुअली, हाम्रो सोसाइटीको माइन्डसेट नै अलिक ट्रेडिसनल छ, सो वी निड टु चेन्ज द होल सिस्टम ।’ यो वाक्य पूरा नेपालीमा भन्न सकिन्थ्यो । पूरा अंग्रेजीमा पनि भन्न सकिन्थ्यो । तर होइन । बीचबाट दुई भाषा काटेर मिसाउनुपर्छ । किनभने त्यसो गर्दा आफू सामान्य मानिसभन्दा अलि माथिल्लो तलामा पुगेजस्तो अनुभूति हुन्छ । हाम्रो विश्वविद्यालय, कार्यालय र सम्मेलनमा यस्तो भाषिक अभिनय झन् रोचक हुन्छ । कोही नेपालीमै राम्ररी व्यक्त गर्न सक्ने विषयलाई आधा अंग्रेजी, आधा नेपालीमा प्रस्तुत गर्छ । अनि श्रोता प्रभावित हुन्छन् । विचार गहिरो थियो कि थिएन, त्यसको मतलब हुँदैन । उच्चारण विदेशी जस्तो सुनियो कि सुनिएन, त्यो महत्वपूर्ण हुन्छ ।
कहिलेकाहीँ लाग्छ – हामी विचार होइन, उच्चारणको पूजा गर्न थालेका छौँ । विदेशी भाषा जान्नु बौद्धिकताको प्रमाण होइन । आफ्नो भाषा जान्नु पिछडापनको प्रमाण पनि होइन । बुद्धिमत्ता मानिसको भाषिक अभिनयमा होइन, सोच्ने क्षमतामा हुन्छ । जापानी वैज्ञानिकले जापानी भाषामा पढेर विज्ञानको अनुसन्धान गर्न सक्छ । चिनियाँ विद्यार्थीले चिनियाँ भाषामा जटिल प्रविधि सिक्न सक्छ । जर्मन दार्शनिकले जर्मन भाषामा दर्शन निर्माण गर्न सक्छ । फ्रान्सेली लेखकले फ्रेन्चमै साहित्य लेखेर विश्वभर पढिन सक्छ । तर हामीलाई चाहिँ किन लाग्छ—ज्ञान अंग्रेजी अक्षरभित्रै जन्मन्छ ? यो प्रश्न अंग्रेजीको होइन । यो आत्मविश्वासको प्रश्न हो ।
हामी संसारसँग प्रतिस्पर्धा गर्न चाहन्छौँ । त्यो राम्रो हो । त्यसका लागि अंग्रेजी आवश्यक पनि हुन सक्छ । अनुसन्धान पढ्न, अन्तर्राष्ट्रिय संवाद गर्न, प्रविधिको पहुँच बढाउन र विश्वबजार बुझ्न अंग्रेजी उपयोगी छ । तर यसको अर्थ के हाम्रो आफ्नै भाषामा विज्ञान, दर्शन, मनोविज्ञान, प्रविधि, चिकित्सा र व्यवस्थापनका पुस्तक बन्नै नहुने हो ? हाम्रो बच्चाले “Photosynthesis” भन्न जानोस्, तर “प्रकाशसंश्लेषण” भन्न लाज मानोस्य – ही हो प्रगति ? उसले “Mental health” भन्न जानोस्, तर “मानसिक स्वास्थ्य” शब्द सुन्दा गाउँलेपन सम्झियो भने त्यसलाई हामी शिक्षा भन्ने कि भाषिक आत्महीनता ?
हाम्रो भाषिक समस्या अझ गम्भीर त्यतिबेला देखिन्छ जब सञ्चारमाध्यमसमेत अंग्रेजीप्रतिको मोहलाई ‘गौरव’को समाचार बनाउँछन् । कुनै विदेशी पत्रिकाले ‘नेपालमा अंग्रेजीको प्रभाव बढ्यो’ भनेर लेख्यो भने उसलाई खुसी हुनु स्वाभाविक होला । उसको भाषा फैलियो । उसको सांस्कृतिक प्रभाव बढ्यो । उसको प्रकाशन, शिक्षा र बजारको पहुँच विस्तार भयो । तर त्यही कुरा नेपाली सञ्चारमाध्यमले ‘हेरौँ त, नेपालीहरूले कति राम्रो अंग्रेजी बोल्न थालेछन् !’ भनेर राष्ट्रिय उपलब्धिका रूपमा प्रस्तुत गर्यो भने प्रश्न उठ्छ – हामी कसको विजय मनाइरहेका छौँ ?
आफ्नो भाषा कमजोर भएको कि विदेशी भाषा बलियो भएको ? कुनै दिन समाचार आउला – ‘काठमाडौंका बालबालिकामध्ये ठूलो सङ्ख्याले आफ्ना हजुरबा–हजुरआमासँग मातृभाषामा कुराकानी गर्न सक्दैनन् ।’ त्यसपछि हेडलाइन राखिएला – ‘नेपालको अन्तर्राष्ट्रियकरणमा ऐतिहासिक फड्को !’ यस्तो अवस्था आए आश्चर्य नमानौँ । हाम्रो भाषिक हीनताबोध यति गहिरो छ कि कहिलेकाहीँ अभिभावकले बच्चासँग नेपाली बोल्दा उसको ‘अंग्रेजी बिग्रन्छ’ भन्ने डर मान्छन् । मानौँ नेपाली भाषा कुनै सङ्क्रामक रोग हो ! बच्चाले नेपाली सुन्नासाथ अंग्रेजीका सबै शब्द बिर्सने छन् !
तर संसारमा करोडौँ मानिस बहुभाषी छन् । उनीहरू घरमा एउटा भाषा बोल्छन्, विद्यालयमा अर्को, काममा अर्को र आवश्यकताअनुसार चौथो भाषा पनि प्रयोग गर्छन् । बहुभाषिकता कमजोरी होइन । बरु संज्ञानात्मक र सांस्कृतिक सम्पत्ति हो । हामीले चाहिँ बहुभाषिकताको अर्थ गलत बुझ्यौँ । हामीलाई लाग्यो – अर्को भाषा सिक्नुपर्छ भने आफ्नो भाषा निकालेर फाल्नुपर्छ । नयाँ पुस्तक राख्न दराजको पुरानो पुस्तक जलाउनैपर्छ र ? नेपाल आफैँ बहुभाषिक देश हो । यहाँ सयभन्दा बढी मातृभाषा जीवित छन् । ती भाषामा केवल शब्द छैनन् । ती भाषामा समुदायका अनुभव छन् । लोककथा छन् । लोकज्ञान छ । संस्कार छन् । वन, वनस्पति, ऋतु, कृषि, सम्बन्ध, नैतिकता र जीवनदृष्टिका अनेकौँ तह सुरक्षित छन् ।
भाषा हराउनु भनेको शब्दकोशबाट केही शब्द हराउनु मात्र होइन । त्यो त संसार बुझ्ने एउटा पूर्ण दृष्टिकोण हराउनु हो । तर हामी भाषालाई प्रायः दुई अवसरमा मात्र सम्झन्छौँ – राजनीति गर्दा र दिवस मनाउँदा । मातृभाषा दिवस आयो भने भाषिक विविधताको भाषण हुन्छ । कार्यक्रममा भाषाको संरक्षणको प्रतिज्ञा हुन्छ । फोटो खिचिन्छ । सामाजिक सञ्जालमा पोस्ट हुन्छ । अनि साँझ घर फर्केर आफ्नै बच्चालाई भनिन्छ – ‘नेपाली नबोल, स्पिक इन इंग्लिस !’ यसलाई सांस्कृतिक व्यङ्ग्य नभने के भन्ने ?
हामीले आधुनिकताको अर्थ अझै राम्रोसँग बुझ्न बाँकी छ । आधुनिक हुनु भनेको जरा काट्नु होइन । आधुनिक हुनु भनेको जरा बलियो बनाएर संसारसँग संवाद गर्नु हो । जापान विकसित भयो किनभने जापानीहरूले अंग्रेजीलाई पूजा गरे भन्ने होइन । चीन विकसित भयो किनभने चिनियाँहरूले आफ्नो भाषा त्यागे भन्ने पनि होइन । युरोपका धेरै देशले आफ्नै भाषामा उच्च शिक्षाको व्यापक परम्परा बनाएका छन् । उनीहरू विदेशी भाषा पनि सिक्छन्, तर आफ्नै भाषालाई अयोग्य घोषणा गर्दैनन् । हामीकहाँ भने कहिलेकाहीँ यस्तो लाग्छ – कसैले नेपालीमा राम्रो लेख्यो भने ‘स्थानीय’ लेखक । अंग्रेजीमा सामान्य लेख्यो भने ‘इण्टरनेसनल स्कलर’ ! यो समस्या अंग्रेजीको होइन । हाम्रो मूल्याङ्कन प्रणालीको हो ।
अंग्रेजी जान्ने मानिस स्वाभाविक रूपमा आधुनिक, बुद्धिमान्, विद्वान् वा सभ्य हुँदैन । नजानेको मानिस स्वाभाविक रूपमा अशिक्षित पनि हुँदैन । भाषा क्षमता हो । चरित्र होइन । भाषा उपकरण हो । ज्ञानको अन्तिम प्रमाणपत्र होइन । अझ अर्को भ्रम पनि छ – अंग्रेजी बोल्ने देश सबै विकसित हुन्छन् ।
यदि विकासको मुख्य चाबी अंग्रेजी नै हुन्थ्यो भने अंग्रेजी आधिकारिक भाषा भएका सबै देश संसारका सबैभन्दा धनी हुनुपर्ने थियो । वास्तविकता त्यस्तो छैन । आर्थिक विकासका आधार उत्पादन, शिक्षा, स्वास्थ्य, प्रविधि, अनुसन्धान, सुशासन, सामाजिक स्थिरता, संस्थागत क्षमता र राजनीतिक उत्तरदायित्व हुन् । भाषा सहयोगी हुन सक्छ । विकासको देवता होइन । हामीले अंग्रेजीलाई देवता बनायौँ । अनि आफ्नै भाषालाई घरको कामदार । अहिले आवश्यक कुरा अंग्रेजीको विरोध होइन । कुनै पनि विदेशी भाषाको विरोध गर्न जरुरी छैन । अंग्रेजी विरोध गर्नु पनि अर्को मूर्खता हुनेछ । हाम्रा विद्यार्थीले उत्कृष्ट अंग्रेजी जानून् । विश्वका पुस्तक पढून् । अनुसन्धान गरून् । अन्तर्राष्ट्रिय मञ्चमा बोलून् । उनीहरूले तीन–चार भाषा जानून् । त्यही त हाम्रो शक्ति हो ।
तर उनीहरूले आफ्नी आमासँग कुरा गर्न भाषा अनुवादक खोज्न नपरोस् । हजुरआमाको कथा बुझ्न ‘सबटाइटल’ नचाहियोस् । आफ्नो इतिहास पढ्दा आफ्नै भाषालाई “लो क्वालिटी” नठानून् । भानुभक्त, लक्ष्मीप्रसाद, सिद्धिचरण, पारिजात वा आफ्नै मातृभाषाका साहित्यकारलाई पढ्दा लज्जा नमानून् सबैभन्दा महत्वपूर्ण कुरा – आफ्नो भाषामा सोच्न सकून् । किनभने भाषा केवल मुखले बोलिने ध्वनि होइन । भाषा विचारको घर हो । विदेशी भाषा हाम्रो झ्याल हो । त्यसबाट संसार हेर्नुपर्छ । तर झ्याल ठूलो बनाउने नाममा घर नै भत्काउनु बुद्धिमानी होइन ।
त्यसैले अंग्रेजी सिकौँ । राम्रो अंग्रेजी बोलौँ । संसारका अरू भाषा पनि सिकौँ । तर कुनै दिन कसैले छाती फुलाएर “मेरो छोरा नेपाली बोल्न जान्दैन” भन्यो भने कम्तीमा हामी ताली नबजाऔँ । किनभने आफ्नो मातृभाषा नजान्नु उपलब्धि होइन । आफ्नो भाषा जान्दाजान्दै अरू दस भाषा जान्नु उपलब्धि हो । अंग्रेजी ज्ञान शक्ति हो । बहुभाषिकता सम्पत्ति हो । तर आफ्नो भाषाप्रति लज्जा लाग्नु आधुनिकता होइन । त्यो त केवल दासत्वले पहिरिएको नयाँ सुट हो ।

प्रतिक्रिया