नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत


काठमाडौँ । प्रतिनिधिसभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको बुधबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरिन् ।

त्यसअघि मन्त्री गौतमले उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथि कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराए ।

त्यसपछि मन्त्री गौतमले सो विधेयक सभामा प्रस्तुत गरिन् ।

विधेयक प्रस्तुत गर्दै मन्त्रीले नेपाल कानुन आयोगलाई कानुन तर्जुमा, कानुनसम्बन्धी अध्ययन अनुसन्धानका क्षेत्रमा उत्कृष्ट निकाय ‘सेन्टर फर एक्सिलेन्स’का रूपमा विकास गर्न मौजुदा कानुन पर्याप्त नभएकाले आयोगको संरचना र कार्य क्षेत्रमा आवश्यक परिमार्जन गरी समग्र कार्यसम्पादनको स्तर सुधार गर्न मौजुदा ऐन संशोधन गर्न विधेयक ल्याउनुपरेको स्पष्ट पारिन् ।

त्यसअघि बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।