रास्वपा सांसदको चेतावनीः जनमतको मानमर्दन हुने गरी थप अहंकारको कालो बादल यो सदनमा गर्जन बन्द गरियोस्


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा सांसद यादवले आन्दोलनका क्रममा आफ्ना साथीहरू शान्तिपूर्ण रूपमा सडकमा उत्रिँदा बन्दुकको निशानामा परेर ज्यान गुमाएको बताए ।

आफू पनि भदौ २३ गतेको आन्दोलनमा सहभागी भएको बताए । उनले आन्दोलनमा सहभागी हुने अनुमति दिनेदेखि सडकमा उत्रिनेसम्म आफू प्रत्यक्ष रूपमा जोडिएको बताए ।

यादवले युवाहरू आखिर के माग लिएर सडकमा उत्रिएका थिए तर त्यसको बदलामा लाठी र गोली खानुपरेको बताए । ‘खासमा हामी सडकमा के माग्न गएका थियौँ । जसको बदलामा हामीले लाठी र गोली खान पर्यो । हाम्रो साथीहरू सुशासनको लागि सडकमा उठ्दा बन्दुकको नालको निसानमा परेर ढले,’ उनले भने, ‘हाम्रो माग सत्ता थिएन। न त हामी कसैको भाग खोस्न गएका थियौँ ।’

उनले आन्दोलनकारीको माग सत्ता प्राप्ति नभएको भन्दै आफूहरू कसैको भाग खोस्न सडकमा नगएको बताए । यादवले वर्तमान सरकारलाई विगतका सहमति र सम्झौताप्रति गम्भीर बन्न चेतावनी दिए । सांसद यादवले सरकारले मृतक र घाइतेका परिवारसँग गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न र जेलमा रहेका जेनजी योद्धाहरूलाई अविलम्ब रिहा गर्न माग गरे।

उनले भने, ‘म ईश्वरसँग प्रार्थना गर्छु, सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस्। मृतक र घाइतेका परिवारसँग गरिएका सम्झौता यथाशीघ्र कार्यान्वयन गरियोस् । बालुवाटारबाट बार्दली पुगेका एउटा विगतलाई म चेतावनी दिन चाहन्छु– हाम्रो साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन हुने गरी थप अहंकारको कालो बादल यो सदनमा गर्जन बन्द गरियोस्।’