काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनको मूल मर्मबाट आफूहरू एक इन्च पनि विचलित नहुने बताएका छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध सचेत युवा पुस्ता सडकमा उत्रिएको बताएका हुन्।
उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवासहित कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिको पूर्ण उपचार, परिवारको उचित हेरचाह र दीर्घकालीन पुनस्र्थापनाको दायित्व राज्यले पूरा गर्नुपर्ने बताएका छन्।
लामिछानेले जेनजी आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त रूपमा भएको उल्लेख गर्दै त्यसलाई कुनै दल वा नेताले आफ्नो सङ्कुचित राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने बताएका छन्।
उनका अनुसार शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको युवा पुस्ताको आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट अस्वीकृति थियो। डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना र स्वाभिमान बोकेको युवा पुस्ताले कुशासन स्वीकार नगर्ने सन्देश आन्दोलनले दिएको उनले बताएका छन्।
‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ,’ लामिछानेले भनेका छन्, ‘हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ।’
उनले युवा, नागरिक समाज र आम नागरिकलाई रास्वपाको कार्यसम्पादनप्रति निरन्तर रचनात्मक खबरदारी तथा निर्मम समीक्षा गर्न आग्रह गरेका छन्। तर, नागरिकमा निराशाको भाष्य स्थापित हुन नदिन पनि उनले अपील गरेका छन्।
‘नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ,’ उनले भनेका छन्।
लामिछानेले जेनजी आन्दोलनले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।



प्रतिक्रिया