अमेरिकी युद्धपोतलाई नयाँ क्षेप्यास्त्र प्रहार गरेको इरानको दाबी


रोयटर्स । इरानले अमेरिकाविरुद्ध ‘आर्थिक युद्ध’को चेतावनी दिँदै खाडी क्षेत्रमा नयाँ ‘समुद्री बहिष्करण क्षेत्र’ घोषणा गर्ने जनाएको छ। इरानले अमेरिकी युद्धपोतलाई लक्षित गरी उन्नत क्षेप्यास्त्र प्रहार गरेको दाबीसमेत गरेको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले आगामी दिनमा फारसको खाडीमा नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गरिने बताएका छन्। उनका अनुसार उक्त क्षेत्र अमेरिकी नाकाबन्दीको सीमाबाट खाडीका विभिन्न भागसम्म विस्तार हुनेछ र त्यहाँ प्रवेश गर्ने पानीजहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिनेछ।

रेजाईले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत अमेरिकालाई पुनः चेतावनी दिँदै आर्थिक युद्धको जवाफ फारसको खाडीभरि फैलिएको समुद्री बहिष्करण क्षेत्रमार्फत दिइने बताएका छन्। उनले अमेरिकी युद्धपोत र सैन्य अड्डाविरुद्ध इरानको सैन्य रणनीतिमा महत्वपूर्ण परिवर्तन गरिएको दाबी गरे।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानले ‘कासेम बासिर’ नामक ब्यालिस्टिक क्षेप्यास्त्र होर्मुज जलडमरूमध्य नजिक रहेका अमेरिकी युद्धपोतलाई लक्षित गरी प्रहार गरेको थियो। तर अमेरिकी सेनाले आफ्ना युद्धपोतले क्षेप्यास्त्र आक्रमणबाट जोगिएको जनाएको छ।

इरानले आगामी दिनमा होर्मुज जलडमरूमध्य हुँदै जाने नयाँ समुद्री मार्गको नक्सासमेत सार्वजनिक गर्ने जनाएको छ। विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि महत्वपूर्ण मानिने उक्त जलमार्गमा इरानले लामो समयदेखि समुद्री आवागमनमा अवरोध गर्दै आएको छ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा पछिल्ला महिनाहरूमा पटक–पटक तनाव बढ्दै आएको छ। अमेरिकाले शनिबार तीनवटा इरानी तेल ट्यांकरमा आक्रमण गरेको जनाएको थियो।

अमेरिकी आक्रमणका कारण इरानको परम्परागत सैन्य क्षमता कमजोर बने पनि क्षेप्यास्त्र तथा ड्रोन क्षमता भने कायमै रहेको बताइएको छ। इरानले यही क्षमतामार्फत होर्मुज जलडमरूमध्य हुँदै जाने तेल ट्यांकर तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्न सक्ने चेतावनी दिँदै आएको छ।