प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून


सुनसरी ।  अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटकको आगमन भने न्यून रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि २०८२/८३ सम्म कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक पुगेका छन् । तीमध्ये विदेशी पर्यटकको सङ्ख्या दुई हजार २९ मात्र रहेको छ ।

आव २०८२/८३ मा १२ हजार ८८३ पर्यटक आरक्ष पुगेकामा विदेशी पर्यटक ३०५ जना थिए । आव २०८१/८२ मा ११ हजार ६०६ पर्यटकमध्ये ३०२ जना विदेशी र २०८०/८१ मा १२ हजार ५५६ पर्यटकमध्ये ३२७ जना विदेशी पर्यटक आएका थिए ।

त्यसैगरी, आव २०७९/८० मा १२ हजार ४७९ पर्यटकमध्ये ३११ जना, २०७८/७९ मा ११ हजार १६७ मध्ये १३० जना, २०७७/७८ मा नौ हजार ८१८ मध्ये ७७ जना, २०७६/७७ मा ११ हजार १४ मध्ये १८९ जना र २०७५/७६ मा आठ हजार ७६३ पर्यटकमध्ये ३८८ जना विदेशी पर्यटक रहेको कोशी टप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी मिथलेस महतोले बताए ।

अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षको तुलनामा यहाँ विदेशी पर्यटकको आगमन कम रहेको छ । पर्यटन पूर्वाधार र प्रचारप्रसारको कमीका कारण पनि विदेशी पर्यटकको आगमन कम भएको हुनसक्ने सूचना अधिकारी महतोको भनाइ छ ।

कोशी टप्पुलाई वन्यजन्तु अवलोकन, बर्ड वाचिङ र सिमसार पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने भए पनि त्यसअनुसारका पूर्वाधार बन्न नसकेको उनले बताए । देशका अन्य निकुञ्ज र आरक्षको तुलनामा निकै कम विदेशी पर्यटक कोशी टप्पुमा आउने गरेका छन् । मुख्यतः प्रचारप्रसारकै अभाव रहेको उनको कथन छ ।

कोशी टप्पुको मुख्य पर्यटन आकर्षण अर्ना भए पनि यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी, सिमसार, नदी र घाँसेमैदान छन् । त्यसैले अर्ना अवलोकनसँगै बर्ड वाचिङ, प्रकृति पदयात्रा, नदी पर्यटन र जङ्गल सफारीलाई व्यवस्थित गर्न सके विदेशी पर्यटक आकर्षित गर्न सकिने पर्यटन व्यवसायी रमन भट्टराईले बताए ।

“सुनसरी र उदयपुरका बीचमा रहेको बेलका बीच रिसोर्टबाट जङ्गल सफारी सुरु गरेको छु । आरक्षभित्र जाने सडकको पूर्वाधार छैन”, उनले भने । आरक्ष क्षेत्रमा व्यवस्थित पदयात्रा तथा बर्ड वाचिङ मार्ग, पर्यटक सूचना केन्द्र तथा होमस्टे सञ्चालन गर्न सके पर्यटकको आगमन बढ् नसक्ने उनको भनाइ छ ।

विसं २०३२ मा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १७३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । विसं २०४४ देखि रामसार सूचीमा सूचीकृत आरक्ष जैविक विविधताका दृष्टिले महत्वपूर्ण क्षेत्र हो ।

सन् १९७६ को गणनामा कोशी टप्पुमा ६३ वटा अर्ना रहेका थिए भने सन् २०२१ को गणना अनुसार सङ्ख्या बढेर ४९८ पुगेको छ । कोशी टप्पुमा ४२ प्रजातिका स्तनधारी, ५३५ प्रजातिका पक्षी, १४१ प्रजातिका माछा र ७७ प्रजातिका पुतली पाइन्छन् ।

यस्तै, ३२ वटा खरमयुर र १९ वटा डल्फिन रहेका छन् ।साथै यहाँ हिउँदमा विभिन्न विदेशी चरासमेत आउने गर्दछन् ।