काठमाडौँ । नेपाल भलिबल लिग (एनभिएल) २०२६ मा कर्णाली शिवराजले लगातार तेस्रो जित दर्ता गरेको छ । तेस्रो जित दर्ता गर्ने क्रममा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा कर्णालीले सगरमाथा स्म्यासर्सलाई ३–२ सेट अन्तरले फराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा कर्णालीले पहिलो सेट २५–१६ ले जित्दै उत्कृष्ट सुरुआत गरेको थियो । यद्यपि दोस्रो सेटमा भने २३–२५ ले पराजित भयो । तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै कर्णालीले २५–२३ ले विजयी भएको थियो ।
चौथो सेट भने सगरमाथाले २५–१९ ले जित्दै खेल पाँचौँ सेटसम्म पुग्यो । निर्णायक सेटमा कर्णालीले १५–९ को जित निकाल्दै आफ्नो अपराजय यात्रा जारी राखेको छ ।
यो जितपछि कर्णालीले तीन खेलबाट आठ अङ्क पुर्याएको छ । सगरमाथासँग तीन खेलबाट सात अङ्क छ । उसले अघिल्लो खेलमा मधेस वारियर्स र खप्तड फाल्कोन्सविरुद्ध जित निकालेको थियो ।
अपराजित कर्णालीले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्ग्स र दोस्रो खेलमा खप्तड फाल्कोन्सलाई हराएको थियो । सोमबार सम्पन्न पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्ग्सले मधेस वारियर्सलाई ३–१ सेटले हराएको थियो ।
एनभिएलको पहिलो सिजनमा छ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । भदौ २७ गतेसम्म सञ्चालन हुने लिगको विजेता टोलीले रु २० लाख प्राप्त गर्ने आयोजक केडिया ग्रुपले जनाएको छ ।

प्रतिक्रिया