काठमाडौं । एमभी दुगड ग्रुपले भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र सञ्चालक शुभम दुगडले उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। रकममा ग्रुप तथा अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीको स्वेच्छिक आर्थिक सहयोगसमेत समावेश रहेको जनाइएको छ।
ग्रुपले भदौ १० गते रसुवाको भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै बेपत्ताको सकुशल उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद् प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको ग्रुपले जनाएको छ। विपद्को सामना गर्न सरकारसँग सहकार्य गर्दै मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्न ग्रुप प्रतिबद्ध रहेको पनि जनाएको छ।
ग्रुपले जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण प्राकृतिक विपद्को जोखिम बढिरहेको भन्दै २०७८ सालदेखि देशव्यापी वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको जनाएको छ।
ग्रुपका अनुसार हालसम्म वन क्षेत्रमा तीन लाखभन्दा बढी बिरुवा तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी फलफूललगायत उन्नत जातका बिरुवा रोपेर संरक्षण गरिएको छ।
वातावरण संरक्षण तथा ग्लोबल वार्मिङको असर न्यूनीकरणका लागि वृक्षारोपण अभियानलाई आगामी दिनमा पनि उच्च प्राथमिकताका साथ निरन्तरता दिने ग्रुपले जनाएको छ।

प्रतिक्रिया