बाढीपीडितका लागि वर्ल्डलिंकद्वारा १ करोड १ लाख सहयोग


काठमाडौं । हालैको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

वर्ल्डलिंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

वर्ल्डलिंकले आफ्नो सहयोगलाई व्यावसायिक गतिविधिभन्दा माथि उठेर गरिएको मानवीय तथा राष्ट्रिय दायित्वका रूपमा प्रस्तुत गरेको छ। नागरिक विपत्तिमा परेका बेला आफू पनि प्रभावित हुँदाहुँदै उनीहरूको साथमा उभिनुपर्छ भन्ने मान्यताका साथ सहयोग गरिएको कम्पनीले जनाएको छ।

विपद्को यस कठिन घडीमा सरकारसँगै निजी क्षेत्र पनि राहत, उद्धार र पुनःस्थापनाका काममा सक्रिय रूपमा अघि बढिरहेको छ।

आफ्नै पूर्वाधारमा ३.५ करोडको क्षति, तीन दिनमै इन्टरनेट सेवा पुनःस्थापित गर्न सफल वर्ल्डलिंक

हालैको विनाशकारी बाढीबाट वर्ल्डलिंक कम्युनिकेसन्सको नेटवर्क तथा पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार कम्पनीले बाढीका कारण प्रत्यक्ष रूपमा करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको जनाएको छ।

आफ्नै पूर्वाधारमा ठूलो क्षति भए पनि वर्ल्डलिंकले ग्राहक तथा नागरिकलाई लामो समयसम्म इन्टरनेट सेवाबाट वञ्चित हुन नदिन बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

बाढीका कारण सडक, विद्युत् तथा अन्य पूर्वाधारमा समस्या उत्पन्न भएको अवस्थामा समेत वर्ल्डलिंकका प्राविधिक तथा सम्बन्धित टोलीहरू प्रभावित नेटवर्कको मर्मत र पुनःस्थापनामा निरन्तर खटिएका थिए।

कम्पनीका अनुसार पछिल्लो समय इन्टरनेट केवल व्यावसायिक सेवा मात्र नभई सूचना, सञ्चार, उद्धार, राहत तथा आपत्कालीन समन्वयको महत्वपूर्ण माध्यम बनेको छ। त्यसैले विपद्का समयमा सञ्चार सेवा निरन्तर राख्नु पनि मानवीय सहयोगको महत्वपूर्ण हिस्सा भएको कम्पनीको बुझाइ छ।

व्यवसायभन्दा माथि मानवता

नेपालको डिजिटल कनेक्टिभिटीमा अग्रणी भूमिका निर्वाह गर्दै आएको वर्ल्डलिंकले व्यावसायिक जिम्मेवारीसँगै सामाजिक तथा राष्ट्रिय उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ।

विपद्का कारण आफ्नै पूर्वाधारमा ठूलो क्षति व्यहोरेको अवस्थामा समेत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

वर्ल्डलिंकका लागि नेपाली नागरिक केवल ग्राहक नभई कम्पनीको सेवा र डिजिटल सञ्जालसँग जोडिएका समुदायसमेत हुन्। देशका विभिन्न भूगोल र समुदायलाई डिजिटल रूपमा जोड्दै आएको कम्पनीले विपद्को समयमा नागरिकको दुःखमा साझेदार बन्नुलाई आफ्नो सामाजिक तथा राष्ट्रिय दायित्वका रूपमा लिएको जनाएको छ।

कम्पनीले गरेको आर्थिक सहयोगबाट बाढी तथा पहिरो प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्र कठिन परिस्थितिबाट गुज्रिरहेका बेला निजी क्षेत्रले सरकार र नागरिकसँग हातेमालो गर्नु आवश्यक रहेको वर्ल्डलिंकको भनाइ छ। यही भावनाअनुसार आफूले क्षति व्यहोरेर पनि प्रभावित नागरिकको साथमा उभिँदै मानवता, सेवा र राष्ट्रप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ।

वर्ल्डलिंकले आफूलाई नेपालको ठूलो इन्टरनेट सेवा प्रदायकका रूपमा मात्र नभई आवश्यक परेको समयमा नेपाली नागरिकसँग उभिने जिम्मेवार नेपाली कम्पनीका रूपमा समेत प्रस्तुत गरेको छ।