चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो ।
भरतपुरबाट काठमाडौं लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौंका लागि दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै संख्या बढाएर ११ वटासम्म पुर्याइएको छ । दैनिक उडान आवश्यकताअनुसार ९ देखि ११ सम्म पुर्याइएको उनले जानकारी दिए ।
चितवनबाट काठमाडौं आवतजावत गर्ने ‘एटीआर ७२’ जहाज हो । यसले काठमाडौंबाट आउँदा ६५ देखि ७० र यहाँबाट काठमाडौं जाँदा ५० जना यात्रु ओसार्ने गर्छ । क्षमता ७२ जनाको भए पनि धावन मार्ग छोटो भएका कारण क्षमता अनुसारको यात्रु ओसार्न सक्दैन ।
कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुरहुँदै काठमाडौं जाने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । वर्षायामका कारण यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेको उनले बताए । यहाँ चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लम्जुङ, मकवानपुरबाट समेत यात्रु आउने गर्छन् । एयरलायन्सले उडानको संख्या बढाएर यात्रुलाई सहजीकरण गरेको जनाएको छ ।

प्रतिक्रिया