रोयटर्स । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूतबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा तीन घण्टाभन्दा बढी समय वार्ता भएको छ। क्रेमलिनका अनुसार वार्ता ‘अत्यन्त उपयोगी’ भए पनि कुनै ठोस सफलता हासिल भएको संकेत देखिएको छैन।
क्रेमलिनका सहयोगी युरी उशाकोभले अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरले युक्रेन संकट समाधानका सम्भावित मार्गबारे विभिन्न प्रस्ताव प्रस्तुत गरेको जानकारी दिए। तर उनले ती प्रस्तावको विस्तृत विवरण सार्वजनिक गरेनन्।
उशाकोभका अनुसार वार्ताका क्रममा पुटिनले युद्धभूमिमा रुसले ‘वास्तविक प्रगति’ गरिरहेको र आफ्ना लक्ष्य हासिल गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए। उनले युक्रेन द्वन्द्वका ‘सबै मूल कारण’ सम्बोधन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता मस्कोले द्वन्द्वका मूल कारण सम्बोधन गर्नुपर्ने धारणा निरन्तर राख्दै आएको छ। पछिल्ला साताहरूमा रुस र युक्रेन दुवैले लामो दूरीका हवाई आक्रमण तीव्र बनाएका छन् भने युद्धको अग्रपंक्ति भने अधिकांश रूपमा स्थिर छ।
ह्वाइट हाउसका एक अधिकारीले वार्ता ‘महत्त्वपूर्ण विषयमा केन्द्रित’ रहेको बताएका छन्। उनका अनुसार आगामी कदमबारे केही साताभित्र घोषणा गरिनेछ।
ट्रम्पका तर्फबाट मस्को पुगेका विटकफ र कुशनरले वार्ताबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। उनीहरू जनवरीपछि पहिलोपटक मस्को पुगेका हुन्। वार्तापछि उनीहरू मस्कोबाट प्रस्थान गरेका छन् र आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि किभ जाने कार्यक्रम छ।
उशाकोभले वार्ता युक्रेन संकट समाधानबारे विचार आदानप्रदानमा मात्र सीमित नरहेको बताए। उनका अनुसार आर्थिक विषय तथा रुस–अमेरिकाबीच सम्भावित ठूला र पारस्परिक लाभका परियोजनाबारे पनि विस्तृत छलफल भएको थियो।
उनले वार्तालाई ‘समय सान्दर्भिक र दुवै पक्षका लागि अत्यन्त उपयोगी’ भएको दाबी गरे। रुसी राष्ट्रपतिको लगानीसम्बन्धी विशेष दूत किरिल दिमित्रिएभले सामाजिक सञ्जाल एक्समा भेटवार्तालाई ‘महत्त्वपूर्ण शान्ति पहल’ भनेका छन्। उनी र उशाकोभ पनि वार्तामा सहभागी थिए।
वार्ताका क्रममा पुटिनले युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिरहेको प्रयासको समेत प्रशंसा गरेका छन्।

प्रतिक्रिया