काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे ‘बेस्ट ट्राभल एन्ड टुरिजम इन्टरप्रेन्योर अफ द इयर’ सम्मानबाट सम्मानित भएका छन्।
नेपालको पर्यटन क्षेत्रमा करिब चार दशकदेखि सक्रिय पाण्डेलाई पर्यटन व्यवसाय, प्रवद्र्धन र संस्थागत नेतृत्वमा पुर्याएको योगदानको कदरस्वरूप इन्टरनेसनल एक्सिलेन्स अवार्ड–२०२६ अन्तर्गत उक्त सम्मान प्रदान गरिएको हो। शनिबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा उनलाई सम्मानपत्र तथा पदक प्रदान गरिएको थियो।
नुवाकोटको विदुरमा जन्मिएका पाण्डेले टानको अध्यक्ष, आवानको महासचिव, नेपाल पर्यटन बोर्डको सदस्य तथा नेपाल पर्यटन वर्ष–२०११ को कार्यसमिति सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्।
उनी पाटा नेपाल च्याप्टरका अध्यक्षसमेत भइसकेका छन् भने पाटा अन्तर्राष्ट्रिय मुख्यालयमा कोषाध्यक्ष, सचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
पर्यटन व्यवसायसँगै सामाजिक तथा वातावरणीय अभियानमा समेत सक्रिय पाण्डेले नुवाकोटमा ‘हरियो नुवाकोट’ अभियानमार्फत करिब डेढ लाख फलफूलका बिरुवा कृषकलाई वितरण गरेका छन्।
राजनीतिमा समेत सक्रिय पाण्डे हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय पर्यटन विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन्। पर्यटन व्यवसाय, संस्थागत नेतृत्व, अन्तर्राष्ट्रिय अनुभव तथा सामाजिक अभियानमा लामो योगदान गरेका पाण्डेलाई प्राप्त पछिल्लो सम्मानले नेपालको पर्यटन उद्यमशीलतामा उनको योगदानलाई थप पहिचान दिएको छ।

प्रतिक्रिया