काठमाडौं । खस क्षत्री एकता समाज नेपालको दोस्रो साधारण सभा शनिबार काठमाडौंको वाफलस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। संस्थाका प्रथम उपाध्यक्ष चिरञ्जीवी थापाको अध्यक्षतामा सम्पन्न सभाले विगत एक वर्षका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा संगठन विस्तारसँगै सामाजिक सेवा, विपद् राहत, शिक्षा, संस्कृति तथा राष्ट्रिय एकताका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सभाको शुभारम्भ सभाअध्यक्ष थापाले दीप प्रज्वलन गरी गरेका थिए। सभामा संस्थाको विगत एक वर्षको प्रशासनिक तथा आर्थिक गतिविधि, उपलब्धि र आगामी चुनौती समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रशासनिक महासचिव धुर्व खड्काले प्रस्तुत गरेका थिए।
त्यस्तै, आगामी वर्ष सञ्चालन गरिने सामाजिक, सांस्कृतिक, शैक्षिक, मानवीय तथा संगठनात्मक कार्यक्रमसम्बन्धी नीति तथा कार्यक्रम संगठन महासचिव रामबहादुर पाण्डे र विदेश विभाग प्रमुख प्रा.डा. गोपालबहादुर केसीले प्रस्तुत गरेका थिए। सभामा संस्थाको संगठनात्मक विस्तार, प्रभावकारी सेवा प्रवाह र आगामी कार्यदिशाका विषयमा सदस्यहरूले सुझाव तथा धारणा राखेका थिए।
सभाले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य विपद्का कारण प्रभावित नेपालीप्रति ऐक्यबद्धता व्यक्त गर्दै सहयोग रकम संकलन गर्ने निर्णयसमेत गरेको छ। संकलित रकम भदौ मसान्तसम्म निरन्तर संकलन गरी असोज १ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ। विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा तथा दिवंगत ज्ञात–अज्ञात सहिदहरूको चिरशान्तिको कामना गर्दै सभामा एक मिनेट मौनधारणसमेत गरिएको थियो।
सभामा संस्थाको विकास, विस्तार, सामाजिक सेवा तथा संगठन निर्माणमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सहभागी सदस्यहरूले संस्थालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा अतिथिका रूपमा क्षत्रबहादुर भण्डारी र राजन केसीले मन्तव्य व्यक्त गरेका थिए। स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष अप्र. महासेनानी प्रकाशजंग कार्कीले दिएका थिए भने कार्यक्रम सञ्चालन शान्त बस्नेतले गरेका थिए।
खस क्षत्री एकता समाज नेपाल खस क्षत्री समुदायबीच सामाजिक एकता, संगठन, सेवा, संस्कार तथा राष्ट्रिय भावनालाई सुदृढ गर्ने उद्देश्यसहित क्रियाशील संस्था हो। संस्थाले समुदायको सामाजिक तथा सांस्कृतिक पहिचानको संरक्षणसँगै शिक्षा, मानवीय सेवा, विपद् सहयोग र राष्ट्रिय एकताको क्षेत्रमा योगदान पुर्याउने उद्देश्य अघि सारेको छ।
सभाध्यक्ष थापाले साधारण सभा विगतको समीक्षा गर्ने औपचारिक कार्यक्रम मात्र नभई संस्थाको आगामी यात्रा र जिम्मेवारी निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको बताए। उनले संस्थाका निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्दै एकता, सेवा र सामाजिक उत्तरदायित्वलाई संस्थाको मूल आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
विपद्मा परेका नेपालीको पीडालाई साझा पीडाका रूपमा लिएर मानवीय सहयोगमा जुट्ने, संगठनलाई थप विस्तार गर्ने तथा सामाजिक, सांस्कृतिक र शैक्षिक अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धतासहित खस क्षत्री एकता समाज नेपालको दोस्रो साधारण सभा सम्पन्न भएको हो।

प्रतिक्रिया