मानिसलाई सामाजिक संजालको परपीडाबाट जोगाउन सरकारले विशेष अभियान चलाओस्


डा. युवराज संग्रौला ।

मेरो यो सरकार समक्ष अनुरोध छ । यो समाजको बिग्रहमा सीमित मानिसको भूमिका छ । देशको ५८% पुँजी वा धन केवल १०% को अधिनमा छ । तल्लो आर्थिक समुहमा ५०% छन् र उनीहरुको हातमा जम्मा ४% पुाँजी वा धन मात्र छ। यो वर्ग बाँच्नका लागि मात्र श्रम गर्छ र समाजका गतिविधिबाट पृथक छ। बाँकी ४०% आर्थिक गतिविधिमा संलग्न किसान, व्यापारी, पेसाकर्मी, आदि छन्, तर यो वर्गभित्र पनि १०/१५% प्रतिशत बाहेक अधिकतम संख्या न्यून मध्यम वर्गनै हो । यो वर्गको त्यो १०÷१५% एउटा “समूह पूर्णरुपमा बिचौलिया हो । यो अपराधी प्रवृत्तिको छ, र अनेक अपराधमा संलग्न छ। यो सिर्जनात्मक काम गर्न अयोग्य छ र हेरेक किसिमका हिंसामा संलग्न हुन्छ। ठगीमा संलग्न हुन्छ। अनैतिक अराजक छ । सामाजिक संजालमा फोहोर गर्ने यही नै हो। यो सत्तामा जो छ त्यसकै नजिक हुन्छ । अहिले धेरैजसो यो प्रवृत्तिका मानिस रास्वपाका वरीपरी छन् तर उनीहरुलाई दण्डबाट सुरक्षित राख्नका लागि मात्र। अतः

१. सामाजिक संजाललाई कानुनको अधिनमा ल्याउनुहोस् । यी गतिमा सामाजिक संजालमा घृणा, परपीडन, आत्नदम्भ (नार्सिसिजम)को भोटेकोसी कायम रह्यो भने नेपाल अपराधीहरुको देश बन्छ । यसलाई रोक्नुपर्छ।

२. सामाजिक संजालमा अपराध गर्नेहरुका विरुद्ध “प्रहरीको एउटा विशेष दस्ता बनाउनु आवश्यक छ। तत्काल कारबाही र सजाय गर्न प्रत्येक जिल्ला अदालतमा एउटा विशेष इजलास बनाएर गाली वेइज्जती अपराधमा सजाय गर्ने संक्षिप्त कार्यविधिको व्यवस्था गर्नुपर्छ । यसका लागि कानुन छ। केवल विशेष पुलिस र इजलास चाहिने हो । यो कठोर दायित्व स्ट्रिक्ट लाएबिलिटिको अपराध हो। यस्ता अपराधमा निर्दोशिता प्रमाणित गर्ने भार अरोपितकै हो ।

२. सामाजिक संजाललाई व्यवस्थापन गर्न ‘टेलिकम्युनिकेशनमा’ मा गेटवे राखी सूचना फिल्टर गर्ने, र फोहोर कुरा, गाली, घृणा र परपीडनलाई निषेध गर्नु जरुरी देखियो ।

३. फेसबुक, टिकटक लगायतका आइडीहरु अनलाइन दर्ता निःशुल्क गर्ने र दर्ता नगरिएका आइडी गेटवेबाट रोकिने व्यवस्था गर्नुपर्छ ।

४. अहिले पीडाको समयमा गालीगलौज गर्नेलाई खोजीखोजी कारबाही गर्नुहोस् ।

५. यस्ता मानिसका प्रोफाइल लक हुन्छन्, तस्बिर हुन्न, र अधिंकांश रास्वपामा जोडिएको देखाउँछन् । तर यी मानिस तपाईँहरुका समर्थक होइनन् । यी अपराधबाट जोगिन रास्वपामा जोडिएका छन् । यस्तालाई फ्याँक्नु भएन भने यिनले नै तपाईँहरुलाइ फ्यांक्ने छन् ।

नेपालमा लोकतन्त्रको एउटा अव्यक्त संस्कार छ। यो देशका राजाले पनि हिजो संवैधानिक हैसियत स्वीकार गरे । कम्युनिस्टको शासन पनि स्वीकार गरे। उसबेला एमालेको सरकार बन्न दिए। माओवादीको सरकार पनि बन्न दिए। फ्याँकिएको पंचायती राप्रलाई पनि मूलधारको राजनीतिमा रहन दिए। अहिले रास्वपालाई पनि सरकारमा स्वीकार गरे । यो लोकतन्त्रको अन्तर्यलाई जोगाउनु रास्वपाको दायित्व हो । अतः मानिसलाई सामाजिक संजालको परपीडाबाट जोगाउनुहोस् ।

प्लेग धेरैलाई एकैचोटी लाग्दैन । जब केहीलाई लाग्छ त्यो माहामारीका रुपमा फैलिन्छ। भाइरल हुने रोग, कुनामा बसेर परपीडा गर्ने अपराध, अस्लिलता फैलाएर पैसा कमाउने धन्दा, बिरोधी राजनीतिको शिरोच्छेदन गर्ने प्रवृत्ति र समाजलाई नै फोहोर पार्ने रोगले समाज विघटन गर्छ। तर एउटा भनाइ छ ‘केही सक्रिय अपराधीले होइन चुपचाप बस्ने असल मानिसका कारणले समाज भत्किन्छ । अतः सामाजिक संजालमा मानिसमाथि हुने परपीडामाथि प्रहार गर्नु सबैको कर्तव्य हो।’