काठमाडौँ । यही भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा गएको बाढीबाट सो क्षेत्रमा साढे सात हजार घरधुरी प्रभावित भएका देखिएको छ । द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कनअन्तर्गत गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार करिब सात हजार ५७० घरधुरी प्रभावित भई करिब ३२ हजार ९३३ जना प्रभावित भएका सरकारले जनाएको छ ।
यसैगरी, ४८ सरकारी कार्यालय प्रभावित भएका, ५५ किलोमिटर सडक, ३७ वटा मोटर चल्ने पुल तथा ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको परराष्ट्र मन्त्रालयले शनिबार भोटेकोसीसम्बन्धी अद्यावधिक गरेको विवरणमा उल्लेख छ ।
त्यस्तै, करिब एक हजार ८०६ हेक्टर कृषि भूमि, १३ वटा जलविद्युत् आयोजना, एउटा सौर्य ऊर्जा आयोजना तथा दुई वटा प्रसारण लाइनमा पनि क्षति पुगेको छ ।
मूल्याङ्कनअनुसार ७८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको छ । यस विपद्बाट भएको क्षतिको व्यापकता र परिमाणलाई दृष्टिगत गर्दै क्षति तथा नोक्सानीको पूर्ण विवरण तथा पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक लागत निर्धारण गर्न विपद्पश्चात् आवश्यकता मूल्याङ्कन पनि एकैसाथ सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।
भोटेकोसी नदीको बाढीबाट रसुवा, नुवाकोट, धादिङ तथा नदीको बहाव क्षेत्रसँग जोडिएका अन्य जिल्लामा ठूलो जनधनको क्षति, व्यापक विस्थापन तथा घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ । खोज र उद्धार कार्य आज एघारौँ दिन पनि जारी रहेको छ ।
हालसम्म १३ हजार ९८ जनाको उद्धार गरिएको छ भने त्यसमा ३०० भन्दाबढी विदेशी नागरिक रहेका छन् । शुक्रबार मात्रै धुन्चे र कोलोनीबाट क्रमशः एक जना चिनियाँ र एक जना अमेरिकी गरी दुई विदेशी नागरिकको उद्धार गरिएको सो विवरणमा उल्लेख छ ।
त्यस्तै, शुक्रबार अपर त्रिशूली–तीन ए सुरुङबाट दुई नेपाली नागरिक र अपर त्रिशूली–एक सुरुङबाट आज एक चिनियाँ नागरिक तथा बेत्रावतीस्थित एउटा घरबाट एक नेपाली नागरिकको जीवितै उद्धार गरिएको छ । करिब पाँच हजार जना अझै बेपत्ता रहेका भने त्यसमा ३५ देशका करिब ६०० जना विदेशी नागरिक रहेका मन्त्रालयको विवरणमा उल्लेख छ ।
प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ३४४ वटा शव बरामद गरिएका छन् । शुक्रबार त्रिशूली–तीन ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव बरामद गरिएको थियो । नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि आफ्नो नियन्त्रणमा रहेका सबै उपलब्ध साधन तथा स्रोत परिचालन गरिरहेको जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल पूर्ण रूपमा परिचालित छन् । साथै विपद् व्यवस्थापनसम्बन्धी निकाय, प्रदेश तथा स्थानीय तह र अन्य सम्बन्धित निकाय पनि परिचालित छन् ।

प्रतिक्रिया