पीडामा रहेका नागरिकलाई थप पीडा दिन खोज्नेहरू अपराधी हुन्ः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री बालेन साहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई सरकारले कुनै पनि अवस्थामा अलपत्र नछोड्ने बताएका छन् ।

नुवाकोटको विदुर–१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको घटनाले देशमा आशा जगाएको प्रधानमन्त्री साहले बताएका छन् । खोज तथा उद्धार कार्य अझै निरन्तर रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री साहले बाढीका क्रममा ज्येष्ठ नागरिकले भोग्नुपरेको पीडा अत्यन्तै गम्भीर रहेको उल्लेख गरेका छन् । कतिपय ज्येष्ठ नागरिकले आफ्ना नातिनातिना च्यापेर ज्यान जोगाउन डाँडातर्फ भाग्नुपरेको तथा वृद्धाश्रममा रहेका नागरिकसमेत सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएको उनले बताएका छन् ।

भोटेकोसीको बाढीले एकैछिनमा घर, खेतबारी, पशुपंक्षी तथा आफन्त गुमाउनुपरेको उल्लेख गर्दै प्रधानमन्त्री साहले प्रभावित ज्येष्ठ नागरिकको पीडा सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका ७ जना ज्येष्ठ नागरिकलाई काठमाडौंको नेपाल सिनियर केयर म्हैपी र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको उनले जानकारी दिएका छन् ।

उनीहरूलाई हिँडडुलका लागि ह्वीलचियर तथा वाकर उपलब्ध गराइएको र स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवा निरन्तर प्रदान भइरहेको प्रधानमन्त्री साहले बताएका छन् । अस्थायी बसाइलाई छोटो बनाउँदै प्रभावित ज्येष्ठ नागरिकका लागि छिट्टै सुरक्षित बसोबासको व्यवस्था गरिने उनको भनाइ छ ।

‘हजुरहरूले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ,’ प्रधानमन्त्री साहले भनेका छन् ।

बाढीले ज्येष्ठ नागरिकको घर र जायजेथा बगाए पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनलाई बगाउन नसकेको उनले बताएका छन् । ज्येष्ठ नागरिकलाई देशको जग र मार्गदर्शकको संज्ञा दिँदै उनले सरकारलाई परिवारकै सदस्य मानेर सल्लाह र मार्गनिर्देशन दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री साहले बाढीमा परी ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । आफन्त गुमाएका नागरिकको आक्रोश स्वाभाविक भएको भन्दै उनले पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी, हियाउने वा थप पीडा दिने कार्य स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

‘पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ,’ उनले भनेका छन् ।

बाढीपछिको खोज तथा उद्धारमा सुरक्षाकर्मीहरू अझै जोखिम मोलेर खटिरहेको उल्लेख गर्दै प्रधानमन्त्री साहले उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले प्रभावित नागरिकलाई सरकारमाथि भरोसा राख्नसमेत आग्रह गरेका छन् ।