काठमाडौँ । प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ ।
चलचित्रको कथासँग प्रत्यक्ष जोडिएको ‘पेन्सन पट्टा’ लाई भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण गर्ने दूतावासको मिलिटरी पेन्सन शाखाले विशेष चासोका साथ हेरेको जनाइएको छ ।
‘पेन्सन पट्टा’ को ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै दूतावासको सो शाखाले चलचित्र निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएको थियो । तर रसुवागढीको विनाशकारी बाढीका कारण निर्माण पक्षले चलचित्रसम्बन्धी भेटघाट तथा प्रचारप्रसार केही ढिला गरेको हो ।
चलचित्रका निर्देशक तथा अभिनेता माओत्से गुरुङले भेटका क्रममा भारतीय दूतावासका कर्मचारीले देखाएको आत्मीयताको प्रशंसा गरे ।
दूतावासका मेजर राहुल झाका अनुसार नेपालमा भारतीय सेना तथा असैनिक (सिभिल) सेवाका गरी एक लाख १९ हजार ५०४ जना पेन्सनभोगी छन् । भारत सरकारले नेपालमा रहेका पेन्सनभोगीलाई वार्षिक करिब सात हजार एक सय करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको छ । चलचित्र ‘पेन्सन पट्टा’ यही भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया