फेवातालमा कायाकिङ गर्ने क्रममा डुवेका युवकको ३० फिट मुनिबाट उद्धार


पोखरा । पोखराको फेवातालमा डुवेका युवकको सशस्त्र प्रहरीको गोताखोरले उद्धार गरेका छन् ।  उदयपुर जिल्ला घर भई पोखरा घुम्न आएका अन्दाजी २१ वर्षीय आयुष तामाङ्ग शनिबार कायाकिङ गर्ने क्रममा तालमा डुवेका थिए ।

उनी डुवेको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले तालको करीव ३० फिट गहिराईबाट उद्धार गरेको थियो ।

उद्धार पश्चात उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । उद्धार गरिएका उनको अवस्था भने जटिल रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।