दोलखालाई बागमतीको ‘पर्यटकीय राजधानी’ बनाउने होटल व्यवसायीको अभियान


दोलखा । प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको दोलखालाई बागमती प्रदेशको ‘पर्यटकीय राजधानी’ का रूपमा विकास गर्ने व्यावसायिक प्रस्तावसहित होटल तथा पर्यटन व्यवसायीले अभियान अघि सारेका छन्।

दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारण सभामा संघका उपाध्यक्ष विनोद जिरेलले दोलखाको पर्यटन सम्भावनालाई योजनाबद्ध रूपमा उजागर र प्रवद्र्धन गर्दै जिल्लालाई बागमती प्रदेशको प्रमुख पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने प्रस्ताव अघि सारेका हुन्। उनले ‘पर्यटकीय राजधानी’को अवधारणालाई सरकारी घोषणाका रूपमा नभई निजी क्षेत्रबाट अघि सारिएको दीर्घकालीन व्यावसायिक अभियानका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

चरिकोटस्थित दरबार पार्टी प्यालेसमा सम्पन्न साधारण सभामा होटल तथा पर्यटन व्यवसायी, संघका पदाधिकारी तथा सदस्य, स्थानीय जनप्रतिनिधि, पर्यटन क्षेत्रका सरोकारवाला तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले दोलखामा रहेका पर्यटकीय सम्भावनालाई छुट्टाछुट्टै गन्तव्यका रूपमा मात्र नभई एकीकृत पर्यटन सर्किटका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। कालिन्चोक, शैलुङ, जिरी, रोल्वालिङ, गौरीशंकर, भीमेश्वर, तामाकोशी, बिगु तथा लाप्चीलगायत क्षेत्रलाई जोडेर पर्यटन प्याकेज निर्माण गर्न सके दोलखालाई प्रदेशकै आकर्षक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने उनीहरूको भनाइ थियो।

दोलखाको पर्यटन विकासका लागि गन्तव्यको प्रचारप्रसारसँगै सडक तथा यातायातको सहज पहुँच, पर्यटकीय पूर्वाधार, होटल तथा आतिथ्य सेवाको गुणस्तर, दक्ष जनशक्ति उत्पादन, डिजिटल प्रचारप्रसार र स्थानीय उत्पादनको बजारीकरणमा विशेष ध्यान दिनुपर्ने सहभागीहरूले बताएका थिए। पर्यटकको संख्या बढाउने मात्र नभई उनीहरूको बसाइ अवधि लम्ब्याउने र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुर्याउने पर्यटन मोडल विकास गर्नुपर्नेमा समेत जोड दिइएको थियो।

संघका अध्यक्ष कुमार श्रेष्ठले दोलखाको पर्यटन सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्रको लगानी र सक्रिय सहभागितासँगै स्थानीय, प्रदेश तथा संघीय सरकारको सहकार्य आवश्यक रहेको बताए। उनले व्यवसायीका समस्या समाधान, सेवा गुणस्तर सुधार र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर संघ अघि बढ्ने उल्लेख गरे।

साधारण सभाका अवसरमा पर्यटन तथा होटल व्यवसायमा उल्लेखनीय योगदान पुर्याएको भन्दै दरबार पार्टी प्यालेस तथा एसएस किङ्सका सञ्चालक शंकर बस्नेतलाई उत्कृष्ट व्यवसायीका रूपमा सम्मान गरिएको थियो।

सभाले संघको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै आगामी वर्ष पर्यटन प्रवद्र्धनका कार्यक्रम विस्तार, व्यवसायीको क्षमता अभिवृद्धि, सेवा गुणस्तर सुधार तथा पर्यटक आगमन वृद्धि गर्ने कार्ययोजना अघि बढाउने निर्णय गरेको छ।

यसैगरी, साधारण सभाले संस्थाको नाम र विधान संशोधन गर्दै ‘दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ’को नाम परिवर्तन गरी ‘होटल संघ दोलखा’ कायम गर्ने निर्णय गरेको छ।

होटल व्यवसायीले अघि सारेको ‘पर्यटकीय राजधानी’को अवधारणाले दोलखाको पर्यटनलाई केवल व्यवसायिक गतिविधिमा सीमित नराखी गन्तव्य विकास, निजी लगानी, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रसँग जोडेर दीर्घकालीन पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। यसका लागि आगामी दिनमा सरकारी निकाय, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य विस्तार गर्दै प्रस्तावलाई संस्थागत अभियानका रूपमा अघि बढाउने व्यवसायीहरूको तयारी छ।