–सीमा आभास
बलात्कार, हिंसा, अपराध जस्ता बिषयको बिरूद्धमा हामी खुलेरै बोलिरहेका छौँ । महिलामाथि हुने घरेलु हिंसा, डिजिटल हिंसा, बच्चीदेखि बृद्धसम्म बलात्कारको सिकार हुनुपरेको अबस्था, श्रीमानदेखि प्रेमीसम्मले हत्या गरिएका महिलाहरूको संख्याको घटना विवरण नेपाल प्रहरीको वेबसाइटमा हेर्दा डरलाग्दो देखिन्छ । उजुरी नपरेका, सहेर बसेका घटना जो हामीले थाहा पाएका छैनौँ त्यसको कुनै हिसाब छैन ।
व्यक्ति अपराधी आफैँ हुने होइन । छोरामान्छेलाई अपराधी बनाउन ऊ बाँचेको समाज र समाजभित्रका परम्परा, चलन, सोचको विकास, बाल्यकालको हुर्काइले अहम् भूमिका खेलेको हुन्छ । तँ छोरीमान्छेमाथि हिंसा गर भनेर घरपरिवार, समाज र चलनले सिकाएकै हुन्छ । तैले हिंसा र अन्याय सहनुपर्छ भनेर छोरीमान्छेलाई समाज, घर र चलनले सिकाएको हुन्छ । भन्नुहोला– घरसमाजले कहाँ त्यसो भन्छ ? तर, दैनिक रूपमा गरिने क्रियाकलापद्वारा सूक्ष्म ढंगले भनिरहेको हुन्छ । जो हामी प्रत्यक्ष नबुझ्न र थाहा नपाउन सक्छौँ ।
पढालेखादेखि केही नपढेकासम्म महिलामाथि हिंसा गर्ने, विभेद गर्ने घरघरमा छन् । महिला हत्या र हिंसाको बिज विभेद हो । अरूका त कुरा छोडौँ विभेदको सुरूवात सबैभन्दा पहिला बाउआमाले गर्छन् । (म पनि आमा हुँ । मेरा पनि बुवाआमा हुनुहुन्छ । म आम चलनको कुरा गरिरहेकी छु ।) आफ्नै सन्तान मध्य छोरालाई गर्ने व्यावहार र उसलाई दिने सुविधा अनि छोरीलाई गर्ने व्यावहार र उसलाई दिने सुविधाको बीचमा बाउआमाले गरिरहेको व्यावहारबीच किन तालमेल मिल्दैन ?
प्राकृति रूप र अरू जीव, जनावरको व्यावहार हेर्दा त सन्तानको माया बराबर लाग्नुपर्ने हो । तर, मान्छेका बाउआमा त्यसो गर्दैनन् । अरू त अरू छोरीलाई गतिलोसँग आशीर्वाद पनि दिन डराउँछन् ।(अचेल छोराछोरीलाई विभेद नगर्नेको संख्या बढीरहेको छ । विभेद नगर्ने तपाइहरू माथि भनिएकामा पर्नुहुन्न है ।)माथि यति कुरा किन भनेको भनेँ– कानुन संशोधन गरेरै भए पनि बलात्कारीलाई फाँसिदिनुपर्छ भनेर आवाज उठिरहेको छ । या लिंग छेदन गर्नुपर्छ भनेको पनि सुनिन्छ ।
म चाहिँ मृत्युदण्डको विरूद्धमा छु । किन कि हाम्रा अदालत, पुलिस प्रशासन, स्वतन्त्र ढंगले काम गर्ने नियामक निकायहरू कति बलियोसँग काम गरिरहेका छन् ? एउटा उदाहरण– नेपाल प्रहरीले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको हो र ? यदि मृत्युदण्डको व्यवस्था भएको भए निर्मला पन्तहत्याको आरोपीलाई मृत्युदण्ड दिनुपथ्र्यो । यसमा कसले मृत्युदण्ड पाउँथ्यो होला ? यसो सोच्नुस् त !
त्यसैले घरघरमा, पढालेखालाई, नपढेकालाई विभिन्न शीर्षकमा पुरूष अभिमुखीकरण कार्यक्रम, महिला अभिमुखकरण कार्यक्रम चलाउनुपर्छ । पुरूष जनचेतना कार्यक्रम जरूरी छ । घरघरभित्र हुने हिंसा न्यूनिकरण गराउनुपर्छ । सामाजिक सञ्जालमा हेर्दा कतिपय पढालेखा पुरूषहरूले पनि हिंसालाई बुझ्न नसकेको देखिन्छ ? महिलामाथि गर्ने ससाना हिंसा पक्कै पनि घरमा गर्नु उहाँहरुको दैनिकी र आदत हो । जसलाई सामान्य ठानिरहनु भएको हुन्छ । वहाँहरूको लेखाइ र धारणा हेरे/सुनेपछि यौन र बलात्कार बीचको अन्तर छुट्याउन नसकेको देखिन्छ । मृत्युदण्ड होइन पुरूषहरूलाई सामाजिक जनचेतना जगाउनुपर्छ ।

प्रतिक्रिया