काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा गरिएको अनुसन्धान तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय सहकार्यका आधारमा तयार गरिएको हरित हाइड्रोजनसम्बन्धी पुस्तक सार्वजनिक गरिएको छ ।
नेपालको ऊर्जा रूपान्तरण, औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा दिगो आर्थिक विकासमा हरित हाइड्रोजनको सम्भावना र रणनीतिक मार्गबारे केन्द्रित पुस्तकको विमोचन त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. भोला थापा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. विवेक बराल र प्रा. भूपेन्द्र विमल क्षेत्रीले संयुक्त रूपमा गरेका हुन् ।

पुस्तकका लेखक डा. बिराज सिंह थापा काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका सहप्राध्यापक तथा ग्रीन हाइड्रोजन ल्याबका प्रमुख हुन् । उनी विगत दुई दशकदेखि नवीकरणीय ऊर्जा, जलविद्युत्, हरित हाइड्रोजन तथा औद्योगिक डिकार्बोनाइजेसनका क्षेत्रमा अनुसन्धान, प्रविधि विकास र नीतिगत अध्ययनमा सक्रिय छन् ।
ग्रीन हाइड्रोजन ल्याबका अनुसन्धानकर्ता, विद्यार्थी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्यमा तयार गरिएको पुस्तकमा नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण, ढुवानी तथा औद्योगिक प्रयोगका सम्भावनाबारे चर्चा गरिएको छ ।

जलविद्युत् स्रोतको उपयोगमार्फत हरित हाइड्रोजन उत्पादन गरी ऊर्जा सुरक्षा सुदृढ गर्ने, आयातित जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने र हरित औद्योगिकीकरणलाई गति दिने विषयलाई पुस्तकले प्राथमिकताका साथ समेटेको छ ।
नेपाल सरकारले हरित हाइड्रोजनको विकासका लागि नीतिगत पहल अघि बढाइरहेको छ । हरित हाइड्रोजन नीतिको तयारी, करसम्बन्धी प्रोत्साहन तथा २.५ मेगावाट क्षमताको व्यावसायिक पाइलट परियोजनाको घोषणाले यस क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको जनाइएको छ ।
काठमाडौँ विश्वविद्यालयले नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन तथा दिगो औद्योगिक विकासका क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र ज्ञान सिर्जनालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया