‘व्यक्तिगत जीवनसमेत नभनी मैले मेरो बुवालाई छोरीको नाताले सहयोग गर्नु नै अपराध हो त ?’


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालले आफू र आफ्नो परिवारमाथि आर्थिक अनियमितता तथा सम्पत्तिसम्बन्धी अफवाह फैलाइएको भन्दै आपत्ति जनाएकी छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी दाहालले केही समयअघि आफूहरूसँग दुबईमा ४० अर्ब रुपैयाँ रहेको र नेपालका ठूला घरजग्गा तथा विभिन्न व्यवसायमा स्वामित्व रहेको भन्दै आरोप लगाइएको उल्लेख गरेकी छन्। उनका अनुसार ती आरोप पुष्टि नभएपछि अहिले ४० अर्बको ठाउँमा ५० करोड रुपैयाँको हल्ला फैलाउन खोजिएको छ।

यस्तो छ दाहालको भनाई

नमस्कार,
समाज परिवर्तनको क्रान्तिमा होमिएको हाम्रो बाल्यकाल असामान्य ढंगले बित्यो । भोलिको बिहानीको आशासमेत नगरी अनेकौँ रातहरू बिताएका हामीले आज सुन्नै नसकिने आरोप सार्वजनिक रुपमै सुन्नुपर्दा दुख लागेको छ र गम्भीर ध्यानाकर्षण पनि भएको छ । केही समयअघिसम्म चर्को स्वरमा भनियो, ‘फलानोसँग दुबईमा ४० अर्ब छ, नेपालका ठूला घरजग्गा यिनीहरूकै हुन्, भाटभटेनी र अरू कति–कति सबै यिनीहरूकै हुन्।’ हामी चुप बस्यौँ, लाग्यो ‘नजाने गाउँको बाटै नसोध्नु।’

तर अब बोल्नैपर्ने भयो। राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला । कुनै पनि आरोप पुष्टि नभएपछि बजारमा अहिले ४० अर्बको ठाउँमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ। म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन् ? हेक्का रहोस्, सत्य अन्ततः सत्य नै हुन्छ।

मैले पटक–पटक भनिरहेकी छु, हामीले हजारौ सहिदको रगत साटेर बनाएको संविधान र कानुनबमोजिम, जुनसुकै निकायले गर्ने कानुनी छानबिनका लागि म र मेरो परिवार सदैव तयार छौँ। तर फेरि पनि बेला–बेलामा यस्ता अफवाह किन फैलाइन्छन्? कुन उद्देश्यका साथ फैलाईन्छन् ? म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।

हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ। हामीलाई के गर्न हुन्छ, के गर्न हुँदैन, राम्रोसँग थाहा छ। हामी मृत्युवरण गर्छौं तर जनतालाई धोका दिन सक्दैनौ यहि नै हाम्रो स्कुलिंग हो। आफ्नो व्यक्तिगत जीवनसमेत नभनी मैले मेरो बुवालाई छोरीको नाताले सहयोग गर्नु नै मेरो अपराध हो त ? म यस समाजका अगुवाहरूलाई प्रश्न गर्न चाहन्छु। म हरेक आमा बुवालाई प्रश्न गर्न चाहन्छु ।

 हामीबाट कुनै आर्थिक गलत गतिविधि र पदको दुरुपयोग भएको छैन र भोलीका दिनमा पनि हुने छैन। म फेरिपनि स्मरण गराउन चाहन्छु कि हामीले हाम्रो सम्पत्ति विवरण सरकार समक्ष केहि समय अघि नै बुझाईसकेका छौं। सरकारले गर्ने जुनसुकै अनुसंधानका लागि हाम्रो सहयोग रहनेछ, गलत गरेको पुष्टि भए कारवाही भोग्नेछौं। तर बिनाकारण र बिना गल्तीको आरोप स्वीकार्य छैन। यि सबै खाले आरोप म अस्वीकार गर्दछु। म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई कुनै पनि भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु ।