भन्सार जाँचपास सहज बनाउन नेपालसहित चार देशबीच समझदारी


काठमाडौँ । नेपालसहित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) मा आबद्ध चार मुलुकका भन्सार प्रशासनबीच पूर्व–आगमन सूचना आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

माल्दिभ्समा जारी एसएएसईसीको १४ औँ भन्सार उपसमूह बैठकका अवसरमा नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो।

नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भूसालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। समझदारीअनुसार चार देशका भन्सार प्रशासनले मालवस्तु सम्बन्धित भन्सार कार्यालयमा आइपुग्नुअघि नै त्यससम्बन्धी सूचना आदानप्रदान गर्नेछन्। यसबाट प्राप्त सूचनाको पूर्वविश्लेषण गरी जोखिम व्यवस्थापन तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विभागले जनाएको छ।

पूर्व–आगमन सूचना उपलब्ध हुँदा वस्तुको जाँचपास प्रक्रिया छिटो र सहज हुने अपेक्षा गरिएको छ। साथै, व्यापारिक प्रक्रियामा लाग्ने समय तथा लागत घटाउनुका साथै वैदेशिक व्यापारलाई थप सहज, पारदर्शी र पूर्वानुमानयोग्य बनाउन समझदारीले योगदान पुर्याउने विभागको भनाइ छ।