अख्तियारमा सेक्युरिटी प्रेस खरिद प्रकरणको अनुसन्धान जारी


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद प्रकरणमा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
बिहीबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका निमित्त सचिव पदम मैनालीले पूर्वमन्त्री गोकुल बाँस्कोटासमेत आरोपित रहेको सेक्युरिटी प्रेस खरिदसम्बन्धी विषय विस्तृत अनुसन्धानकै क्रममा रहेको जानकारी दिए ।

सार्वजनिक लेखा समितिबाट प्राप्त करिब १० वटा निर्देशनमध्ये सेक्युरिटी प्रेस खरिद प्रकरणलाई आयोगले अध्ययन गरिरहेको उनले बताए ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशनका आधारमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित दुई–तीनवटा उजुरीसमेत विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको मैनालीले जानकारी दिए ।

रौतहटको दुर्गा भगवती गाउँपालिका कार्यालयसँग सम्बन्धित विषयमा अनुसन्धान पूरा गरी मुद्दा दायर भइसकेको उनले बताए । आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य वर्षमा अदालतबाट फैसला भएका मुद्दामा कसुर कायम हुने दर ७० प्रतिशतभन्दा माथि रहेको उनको भनाइ छ।

विशेष अदालतबाट सफाइ पाएका मुद्दामा आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्ने गरेको पनि मैनालीले जानकारी दिए ।