अमेरिका छाडेर बेलायत फर्किँदै प्रिन्स ह्यारी र मेघन


बीबीसी । ससेक्सका ड्युक प्रिन्स ह्यारी र डचेस मेघन यसै महिनाको अन्त्यमा बेलायत फर्किने तयारीमा रहेका छन् ।
बीबीसीका अनुसार ह्यारी र मेघन अमेरिकाबाट बेलायत फर्किएर लन्डनबाहिर निजी तथा गैर–राजकीय निवासमा बस्ने योजनामा छन् । उनीहरूका सन्तान प्रिन्स आर्ची र प्रिन्सेस लिलिबेटले आगामी सेप्टेम्बरदेखि बेलायतको एक विद्यालयमा अध्ययन सुरु गर्नेछन् ।

ह्यारी र मेघनको बेलायत फर्किने योजनाबारे राजा चाल्र्सलाई आइतबार जानकारी गराइएको छ । उनीहरूले पुनः राजपरिवारका कार्यरत सदस्यका रूपमा जिम्मेवारी सम्हाल्ने भने कुनै योजना नरहेको बताइएको छ ।

राजा चाल्र्सले भने ह्यारी, मेघन र आफ्ना नातिनातिनासँग निजी तथा व्यक्तिगत रूपमा थप समय बिताउने अवसरलाई स्वागत गरेको बीबीसीले जनाएको छ । प्रिन्स विलियम र प्रिन्सेस क्याथरिनलाई पनि उनीहरूको योजनाबारे जानकारी गराइएको छ ।

सन् २०२० मा राजकीय जिम्मेवारी त्यागेर अमेरिका गएपछि ह्यारी र मेघनको बेलायतस्थित राजपरिवारसँगको सम्बन्धमा तनाव देखिँदै आएको थियो । गत जुलाईमा भने उनीहरूले ग्लोस्टरशायरस्थित राजा चाल्र्सको निजी निवास हाइग्रोभमा भेट गरेका थिए ।

उक्त भेट चार वर्षभन्दा बढी समयपछि राजा चाल्र्सले आफ्ना नातिनातिनालाई प्रत्यक्ष भेटेको पहिलो अवसर थियो । ह्यारी र मेघन सन् २०२२ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी भएयता एकसाथ बेलायत आएका थिएनन् ।

यसैबीच, ह्यारी र मेघनको सुरक्षा लामो समयदेखि विवादको विषय रहँदै आएको छ । राजकीय जिम्मेवारी छाडेर अमेरिका गएपछि ह्यारीको सुरक्षा स्तर घटाइएको थियो । उनले त्यसविरुद्ध गरेको कानुनी चुनौती गत वर्ष असफल भएको थियो ।
ह्यारीले यसअघि सुरक्षाको चिन्ताका कारण आफू बेलायत आउन तथा पत्नी र सन्तानलाई बेलायत ल्याउन कठिन भएको बताएका थिए ।

आगामी वर्ष बर्मिङ्घममा आयोजना हुने घाइते सैनिक तथा सेवाकर्मीका लागि ‘इन्भिक्टस गेम्स’का क्रममा ह्यारी बेलायतमा रहने अपेक्षा गरिएको छ । इन्भिक्टस गेम्स फाउन्डेसनले ह्यारीको बेलायत फर्किने खबरलाई ‘उत्कृष्ट समाचार’ भनेको छ।