सरकारी निकायलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन


काठमाडौं । प्रधानमन्त्री बालेन साहको निर्देशन तथा स्वदेशी उद्यमी–व्यवसायीसँगको परामर्शका आधारमा सरकारले सरकारी निकायमा स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र जारी गर्दै संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा विदेशस्थित नेपाली नियोगलाई स्वदेशी वस्तु तथा सेवा प्रयोग गर्न अनुरोध गरेको हो ।

स्थानीय सीप तथा उद्यमको प्रवद्र्धन, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

पत्रमा स्टेशनरी, फर्निचर, निर्माण सामग्री तथा खाद्य वस्तु खरिद गर्दा नेपाली उत्पादनलाई अनिवार्य रूपमा प्राथमिकता दिन भनिएको छ । त्यस्तै, सरकारी बैठक, समारोह तथा कोसेलीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न पनि निर्देशन दिइएको छ ।

सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कागजातमा स्वदेशी वस्तुलाई प्राथमिकता दिने व्यवस्था अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । यसको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने प्रावधानसमेत पत्रमा राखिएको छ ।