बालेनको कार्यशैली नसुध्रिए आन्दोलनमा जाने एमालेको चेतावनी


काठमाडौँ । नेकपा एमालेले अहिलेको सरकारको शक्तिको स्रोत सेना, अल्गोरिदम र अमेरिका रहेका बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले बालेन नेतृत्वको सरकारको शक्तिको स्रोत तीन ‘ए’ भएका बताएक हुन् ।

उनले भने, ‘यो सरकारको शक्तिको स्रोत तीन ए अर्थात आर्मी, अल्गोरिदम र अमेरिका हो ।’ उनले तीन शक्तिबाट सरकारको नेतृत्वमा आए पनि पछिल्ला ‘जनविरोधी’ कामले प्रधानमन्त्रीको शक्ति क्षय हुँदै गएको बताए । उनले भने, ‘अब पपुलिज्मको नशा, अल्गोरिदमको जादू, अपर्चुनिज्मको भ्रम र तीन ए को शक्ति क्रमशः क्षिण हुँदै गएको छ ।’

उनले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा गम्भीर सङ्कट पैदा भएको दाबी गरे । उनले भने, ‘२०१७ सालमा महेन्द्रतन्त्र र २०६१ सालमा ज्ञानेन्द्रतन्त्र आएजस्तै अहिले मुलुकमा बालेन्द्रतन्त्र स्थापित भएको छ ।’

उनले अहिलेको सरकार अधिनायकवादतिर उन्मुख भएको र यसले लोकतन्त्रलाई संकटमा पारेको बताए । थापाले रास्वपाभत्रको आन्तरिक सत्ता संघर्षले राष्ट्रिय सुरक्षामा चिन्ता बढाएको बताउँदै भू–राजनीतिक चलखेलको आशंका व्यक्त गरे ।

रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेनको संसदमा आकस्मिक आगमनबीच सम्बन्ध रहेको उनले बताए ।

उनले भने,‘एकतिर भारतमा रास्वपा सभापतिले भव्य स्वागत पाउनु र अर्कोतिर नेपालमा प्रधानमन्त्रीले आफ्नै भूमि मिचिएको स्वीकार्नु रहस्यमय छ । कतै नेपाल सिक्किमीकरणको प्रक्रियामा त छैन ? यसले गम्भीर संशय पैदा गरेको छ ।

उनले प्रधानमन्त्री बालेन साहको कार्यशैलीमा सुधार नआए र सभापति लामिछानेले पुनर्गठनको पहल नगरे आन्दोलनमा जाने चेतावनी दिए ।

उनले भने, ‘राष्ट्रियता, राष्ट्रियता र जनजीविका पुनस्र्थापित गर्न छिट्टै चारैतिरबाट ७, ४७ र ६२ सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ । निश्चित आउनेछ।’