बारामा बालिका हत्या प्रकरणमा प्रहरीको भूमिकामाथि रास्वपा सांसदको प्रश्न, छानबिन गर्न माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको गम्भीर लापरबाही रहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद अन्सारीले इलाका प्रहरी कार्यालय सिमराको अकर्मण्यताका कारण बालिकाको ज्यान गएको दाबी गरे । उनले घटनाप्रति प्रहरीको फितलो उपस्थिति र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

उनले भने,‘बारामा जुन ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भयो, त्यो विषयलाई अलि म अर्कै ढंगले भन्न चाहन्छु । बारा जिल्लाको इलाका प्रहरी कार्यालय, सिमरा, यो लापरबाही र लेनदेनको केन्द्रविन्दु बनेर रहेको छ । गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । आज दुई जना नालायक प्रहरी अफिसरका कारण ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । त्यहाँ प्रहरीले खोजेको होइन । बालिका हराएपछि प्रहरीलाई जानकारी गराएको २४ घण्टासम्म पनि कुनै पनि प्रहरी कतै परिचालन भएको छैन । जब छिमेकीले ७२ घण्टापछि यहाँ शवको गन्ध आइरहेको छ भन्ने थाहा पाएँ, त्यसपछि प्रहरी र प्रहरीको कुकुर सबै गएका छन् । इलाकाका प्रहरी अफिसरहरूलाई तानेर हुन्छ कि कारबाही गरेर हुन्छ, प्रहरीको एक्सन लक थाहा हुनुपर्यो । १ घण्टामा प्रहरीले के गर्यो ?२ घण्टामा के गर्यो ? ६ र १२ घण्टामा के गर्यो ?’

उनले घटनामा इलाका प्रहरी कार्यालयका सम्बन्धित प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाही गर्न माग गरे ।
उनले भने,‘प्रहरीले छिनछिनको घटनाको अपडेट दिन सक्नुपर्छ । स्थानीय वा अरूले शव फेला पारेपछि मात्रै कुकुर र प्रहरी पुगेर हामीले छानबिन गर्दैछौँ भन्नुको कुनै तुक छैन ।’