काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको आवागमन अब मोबाइल एप्लिकेसनबाट थाहा पाइने


काठमाडौँ । काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरु कुन ठाउँमा छन् । आफूले पर्खिएको ठाउँमा आइपुग्न कति समय लाग्छ, जस्ता सार्वजनिक यातायातको सहजतासँग जोडिएको केटीएम पब्लिक ट्रान्सपोर्ट मोवाइल एप्लिकेसन सार्वजनिक गरिएको छ ।

बुधबार ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ को तेस्रो वैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप्लिकेसन सार्वजनिक गरेकी हुन् ।

यो एप्लिकेसनमा जीपीएस जडान भएका करिब १ हजार २ सय सवारी साधनका बारेमा जानकारी लिन सकिन्छ । यसलाई बढाउँदै लगिने प्राधिकरणको योजना छ ।

बैठकमा अध्यक्ष डंगोलले, उपत्यकाभित्रको दिनमा चल्ने यातायात प्रणालीलाई सरल, सहज र पहुँचयुक्त बनाउन तथा रात्रिकालीन सेवालाई विस्तार गर्न र स्कूल कलेज जानु पर्ने विद्यार्थीहरुका लागि विहान सबैरैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेकोले यसका लागि स्थानीय तहहरुका बीचमा वित्तीय साझेदारी सहितको प्रणालीमा काम गर्नुपर्ने बताइन् ।

‘सार्वजनिक यातायात कुनै एक पालिकाको सीमाभित्र मात्र राख्न मिल्ने क्षेत्र होइन । पालिका पालिका जोडिने भएकोले यो पालिकाहरुको साझा सवाल हो । यसमा समन्वय गरेर कार्यक्रम र सेवालाई एकरुपता दिनुपर्छ ।’ उनले भनिन् ।

बैठकका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले, सार्वजनिक बस चढ्ने यात्रुले सहज भएको महसुस गराउने प्रणाली चाहिएको बताए । ‘सार्वजनिक यातायातको सुधारका लागि यो परिषदले आकार बदल्न सक्ने क्षमता राख्छ । यो क्षमताको प्रयोग गरौँ ।’ महर्जनले भने ।

‘प्राधिकरणको कार्यक्षेत्रमा अन्तरसरकार समान बुझाइ नहुँदा विगतमा काम अगाडि बढाउन सकिएको थिएन ।’ वैठकमा प्राधिकरणका कार्यकारी अधिकृत कुबेर नेपालीले भने, ‘अघिल्लो वर्ष सरकारले खारेजीको सूचीमा राखेका कारण अगाडि बढाउन खोजिएका काम पनि रोकिए । यस वर्ष पुनसंरचित गर्ने भन्ने नेपाल सरकारको निर्णय आएको छ । यसकारण चालु आर्थिक वर्षका लागि कार्यक्रम प्रस्तावित गरिएका छन् ।’

यसवर्षका लागि बस स्टपर पिक ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनको सर्त, सम्झौताको मोडल तयार गरि नगरपालिकासँग सहकार्य थालनी गर्ने, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप, बस पार्क आदिमा जीपीएस ट्याकिङ् समेतका आधारमा सार्वजनिक यातायात सूचना प्रणालीको जडान, नगद रहित भाडादर लागू गर्न कानूनी पूर्वाधार तयार गर्ने कार्यक्रम स्वीकृत भएका छन् ।

टिकट लिने संस्कार प्रोत्साहन गर्न अभियान चलाउने लगायत अध्ययन अनुसन्धानका कार्यक्रम हुने निर्णय भएको छ ।
छलफलमा नगरपालिकाबीच आपसी सम्बन्ध र सहकार्य, सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्र लक्षित सार्वजनिक यातायात सञ्चालन लगायत विषयमा सुझाव प्राप्त भएका छन् ।

परिषदको पहिलो वैठक २०८० भदौ २८ गते बसेको थियो । त्यस वैठकले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्य क्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै निर्णय गर्नुअघि प्राधिकरणसँग समन्वयका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । दोस्रो बैठक २०८१ साल १४ गते बसेको थियो । त्यस बैठकले, परिषदको निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापनलाई चुस्त बनाउन ९ सदस्यीय स्टेरिङ् कमिटी गठन गर्ने निर्णय गरेको थियो ।

परिषद सदस्यको संख्या ३५ जना छ । संख्या धेरै भएकोले कार्य चुस्त बनाउन कठिन हुने भएपछि यसलाई चुस्त बनाउन परिषदका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुखको अध्यक्षतामा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र वुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सदस्य छन् । यस्तै सार्वजनिक यातायात प्रणाली र पूर्वाधारसँग सम्बन्ध राख्ने यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सडक विभागलाई सदस्य राखिएको छ । परिषदका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले सदस्य सचिव छन् ।