कोलकाता । भारतको कोलकातास्थित एक होटलमा भएको भीषण आगलागीमा नौ जनाको मृत्यु भएको छ । न्यु मार्केट प्रहरी चौकीअन्तर्गत मिर्जा गालिब स्ट्रिटस्थित फ्लोरेन्स म्यान्सनको होटल ‘शिखा इन’मा गएराति २ बजे आगलागी भएको थियो ।
प्रहरीले घटनामा एक बालक र दुई महिलासहित नौ जनाको मृत्यु भएको जनाएको छ । भवनबाट करिब ६० जनालाई सुरक्षित उद्धार गरिएको छ ।
अधिकारीहरूका अनुसार अधिकांशको मृत्यु आगोले जलेर नभई धुवाँका कारण भएको प्रारम्भिक रूपमा देखिएको छ । आगलागीपछि भवनमा बाक्लो कालो धुवाँ भरिँदा मानिसलाई सास फेर्न समस्या भएको थियो ।
घटनास्थलमा खटिएका राज्य अग्नि सेवा विभागका एक अधिकारीले भवनमा पर्याप्त भेन्टिलेसनको व्यवस्था नरहेको बताएका छन् ।
अधिकारीहरूले भवनको साँघुरो संरचनाले पनि उद्धारमा कठिनाइ भएको बताएका छन् । भवनका प्रवेश तथा निकास मार्ग अत्यन्तै साँघुरा रहेकाले धुवाँले भरिएपछि होटलका पाहुना बाहिर निस्कने बाटो पहिल्याउन समेत कठिनाइमा परेका थिए ।

प्रतिक्रिया