ट्रम्पद्वारा होर्मुज जलडमरूमध्यलाई अमेरिकी भूभाग देखाइएको नक्सा सार्वजनिक


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यलाई अमेरिकी भूभागका रूपमा देखाइएको नक्सा सार्वजनिक गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत सार्वजनिक गरेको नक्सामा होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी भूभाग’ भनेर उल्लेख गरिएको छ । जलमार्गलाई अमेरिकामा गाभ्ने आफ्नो धारणा दोहो¥याउँदै उनले यस्तो नक्सा सार्वजनिक गरेका हुन् ।

विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने होर्मुज जलडमरूमध्य इरान र ओमानको क्षेत्रीय जलक्षेत्रमा पर्छ ।
ट्रम्पले गत शुक्रबार अभियान शैलीको एक कार्यक्रममा पहिलोपटक होर्मुज जलडमरूमध्यलाई अमेरिकी भूभाग घोषणा गर्ने धारणा सार्वजनिक गरेका थिए ।

सोमबार ओभल अफिसमा सञ्चारकर्मीले यसबारे प्रश्न गर्दा उनले आफूलाई उक्त विचार मन परेको र अमेरिकाले जलमार्गलाई नाकाबन्दीमार्फत नियन्त्रण गरिरहेको दाबी गरेका थिए ।

इरानले भने ट्रम्पको दाबी अस्वीकार गरेको छ । इरानी उपविदेशमन्त्री काजेम घारिबाबादीले होर्मुज जलडमरूमध्य ‘इरानको थियो, इरानकै हो र इरानकै रहनेछ’ भन्दै जलमार्ग इरानको आदेशमा मात्रै बन्द र खुला हुने बताएका छन् ।
उनले अमेरिकाले पराजयको वास्तविकता स्वीकार नगरेसम्म र आफ्नो ‘भ्रम’ मा रमाइरहेसम्म इरानले महत्वपूर्ण जलमार्गमा आफ्नो नाकाबन्दी जारी राख्ने चेतावनीसमेत दिएका छन् ।