सांसद राजेन्द्र राईको प्रस्तावः गाँजा खेतीकै कारण युवाले जेल भरिए, खेतीलाई कानुनी मान्यता दिऔँ


काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई कानुनी मान्यता दिन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद राईले गाँजा खेतीलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्ने भन्दै त्यसको लागि आवश्यक कानुन तथा विधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विश्वका ६२ भन्दा बढी देशले गाँजाबाट आर्थिक लाभ लिइरहेको बताउँदै उनले नेपालमा पनि गाँजा प्रशोधन केन्द्र स्थापना गर्न माग गरे । गाँजाबाट विभिन्न रोगको औषधि बनाउन सकिने भन्दै उनले पहाडी जिल्लाबाट भइरहेको तीव्र बसाइँसराइ रोक्न र रोजगारी सिर्जना गर्न गाँजा खेती महत्वपूर्ण आधार बन्न सक्ने बताए ।

उनले गण्डकी प्रदेशले गाँजा खेतीसम्बन्धी कानुन निर्माण गरिसकेको भन्दै सरकारले समेत यसमा ढिलाइ गर्न नहुने बताए। सांसद राईले गाँजा खेतीकै कारण आफ्नो निर्वाचन क्षेत्र धनकुटाका युवा कानुनी झमेलामा परेको र जेल भरिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘१८ देखि ३० वर्ष उमेर समूहका धेरै युवाहरू जीविकोपार्जनका लागि गाँजा खेती गर्दा आज जेलमा छन्। यसले गर्दा धनकुटाका जनतामा निराशा र त्रास छाएको छ ।’

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघले गाँजालाई लागूऔषधको सूचीबाट हटाएर औषधीय गुण भएको वनस्पतिका रूपमा प्रमाणित गरिसकेको उल्लेख गरे। उनलले भने, ‘सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ। गाँजाबाट बनेका जुत्ता, मोजा र टोपी जस्ता सामग्रीहरू प्रयोगमा आइसकेका छन् । सामग्री प्रयोग गर्न हुने तर यसको व्यावसायिक खेती र विक्री गर्न किन नहुने? यो गम्भीर प्रश्न हो।’