काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले सभामुखमाथि गम्भीर आरोप लगाएका छन् । उनले सभामुखलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘परिचालित अवशेष’को संज्ञा दिएका छन् । सामाजिक संजालमार्फत थापाले चार महिनासम्म विषयलाई ढाकछोप गर्ने प्रयास भए पनि सफल हुन नसकेको दाबी गरेका छन् । कानुनमा रहेको व्यवस्थालाई नियमावलीमार्फत हटाउने प्रयास गरिएको भन्दै उनले पछिल्लो प्रतिनिधिसभा नियमावली त्यसको नमुना भएको आरोप लगाए ।
उनले उक्त व्यवस्थाविरुद्ध न्यायालयमा चुनौती दिन कानुनविद् र सचेत नागरिक अग्रसर नहुनु दुःखद भएको बताएका छन् ।
नेपालले भारतको भूभाग धेरै ठाउँमा मिचेको भन्दै प्रतिनिधिसभाको रोस्ट्रमबाट अभिव्यक्ति दिने प्रधानमन्त्रीप्रति पनि थापाले कटाक्ष गरेका छन् ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सभामुखले रुलिङ गरेको विषयलाई भने उनले सकारात्मक कदमका रूपमा लिएका छन् ।
‘सभामुखको भूमिका बाबुको सम्पत्तिबाट प्राप्त भएको होइन, मनलाग्दी गर्न पाइँदैन,’ थापाले भनेका छन् । उनले राष्ट्रिय जिम्मेवारीबोध गर्दै नियमावलीअनुसार प्रश्नोत्तरको दिन निर्धारण गर्न सभामुखलाई आग्रह गरेका छन् ।
थापाले आगामी भदौ २४ गते राष्ट्रिय सम्पत्ति आगजनी गरेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले छानबिनका लागि सिफारिस गरेका सुलभ खरेल, कृष्णबहादुर कार्कीसहित १७ जना सांसदलाई निलम्बन गरी तत्काल कारबाही गर्नसमेत माग गरेका छन् ।

प्रतिक्रिया