जीवन चलिरहोस्


डा. गोविन्दशरण उपाध्याय ।

सत्य यत्ति हो—आजको मितिसम्म म छु ।
म आफैँले पनि ‘म छु’ भन्न सक्छु र मलाई देख्नेले पनि ‘गोविन्द छ’ भन्न सक्छ । भोलि के हुन्छ, त्यो भोलिको कुरा हो । दुई घण्टापछि पनि म यसरी नै हुनेछु भन्ने कुरा अहिले मेरो अनुभव होइन, केवल सम्भावना र विश्वास हो। तर यो क्षणमा भने म छु-सास फेरिरहेको छु, सोचिरहेको छु, अनुभव गरिरहेको छु, कसैलाई सम्झिरहेको छु, कसैप्रति कृतज्ञ भइरहेको छु र आफ्नै अस्तित्वलाई आफ्नै चेतनाभित्र महसुस गरिरहेको छु । सायद जीवनको सबैभन्दा निर्विवाद सत्य यही हो-अहिले म छु ।

यहाँसम्म आइपुग्दा मैले धेरै बाटा हिँडेँ । कतै उकालो थियो, कतै ओरालो; कतै बाटो आफैँ बनाउँदै हिँड्नुप¥यो, कतै अरूले बनाइदिएको बाटोमा सहजसँग पाइला चाल्न पाएँ । अन्ततः हिँड्ने खुट्टा मेरा थिए, निर्णयका क्षण मेरा थिए र जीवनका चोट तथा उपलब्धि पनि मैले नै अनुभव गरेँ । त्यस अर्थमा म एक्लै यहाँसम्म आएको हुँ । तर “म एक्लैले सबै गरेँ” भन्नु सत्यप्रतिको अन्याय हुनेछ । किनकि मेरा प्रत्येक पाइलाभित्र असङ्ख्य मानिस, प्राणी, वस्तु र परिस्थितिको सहयोग मिसिएको छ ।

म जन्मनुअघि नै कसैले मेरो लागि ठाउँ तयार गरिरहेको थिएन तर आमाको शरीरले मलाई नौ महिना बोकेको थियो । बाबुको पसिना मेरो जीवनका कुनै न कुनै आवश्यकतामा रूपान्तरित भएको थियो । यो सबैसंग हुन्छ, मसंग पनि यस्तै भयो । परिवारले मलाई नाम दियो, भाषा दियो, पहिलो परिचय दियो । गुरुले अक्षर चिनाए । कसैले हात समातेर हिँड्न सिकायो । कसैले गल्तीमा सच्यायो । कसैले आलोचना गरेर बलियो बनायो । कसैले प्रेम दिएर बाँच्ने इच्छा थप्यो । कसैले विरोध गरेर आफ्नै सामथ्र्य चिन्न बाध्य बनायो । अपमानले बाटो देखायो । मेरो अहंकारले एक्लो बनायो । त्यसैले मेरो जीवनमा सहयोग गर्नेहरूको सूची मानिसमा मात्र सीमित छैन ।

मैले पिएको दूध दिने गाई वा भैँसीको पनि मेरो शरीर निर्माणमा अंश छ । मैले खाएको अन्न फलाउने किसानको श्रम मभित्र रगत बनेर बगेको छ । त्यो अन्न उमार्ने खेत, त्यसलाई भिजाउने पानी, त्यसमाथि परेको घाम, हावा र वर्षासमेत मेरो जीवनका अदृश्य सहयोगी हुन् । मैले हिँडेको बाटो बनाउने मजदुरलाई म नचिन्न सक्छु, मैले पढेको पुस्तक छाप्ने कामदारको नाम मलाई थाहा नहुन सक्छ, मैले प्रयोग गरेको वस्तु बनाउने मानिससँग मेरो कहिल्यै भेट नहुन सक्छ-तर उनीहरूको श्रम मेरो जीवनसँग जोडिएको छ । मेरो जीवनका लागि यी सबैको अत्यावश्यक योगदान छ ।मै ले धन्यवाद दिए पनि त्यो सम्बन्ध छ, धन्यवाद नदिए पनि छ ।

यस अर्थमा “मेरो जीवन” भनेर मैले जसलाई निजी सम्पत्ति ठानिरहेको छु, त्यो वास्तवमा अनगिन्ती सम्बन्धहरूको संगम हो । मेरो शरीर मेरो देखिए पनि यसलाई टिकाइराख्ने पदार्थ संसारबाट आएको हो । यसमा प्रकृतिका परमाणुको योगदान छ । मेरो भाषा मैले आविष्कार गरेको होइन । मेरो ज्ञान मैले शून्यबाट बनाएको होइन । मेरा संस्कार, मेरा शब्द, मेरा अनुभूति व्यक्त गर्ने तरिका—धेरै कुरा अरूबाट आएका हुन् । त्यसैले “म” भित्र थुप्रै “अरू” बसेका छन् । र शायद “अरू” भित्र कतै म पनि बसेको छु । मैले यो कुरा जान्दिन । सायद, उनीहरूले पनि जान्दैनन् ।

यदि अरूको योगदान मेरो अस्तित्वका लागि महत्त्वपूर्ण छ भने मेरो अस्तित्व पनि उनीहरूको जीवनमा कुनै न कुनै रूपमा अर्थपूर्ण हुनुपर्छ। सम्बन्ध एकतर्फी हुँदैन । आमाले सन्तानलाई प्रेम गर्छिन् भने सन्तानको उपस्थितिले पनि आमाको मातृत्वलाई अर्थ दिन्छ । गुरुले शिष्यलाई ज्ञान दिन्छन् भने शिष्यको जिज्ञासाले गुरुको ज्ञानलाई जीवित राख्छ । मित्रले मेरो दुःख बाँड्छ भने मेरो उपस्थितिले पनि उसको मित्रताको अनुभूति पूर्ण गर्छ ।

सायद जीवन भनेकै यही परस्पर लेनदेन हो-केवल पैसाको होइन । भावना, समय, श्रम, विश्वास, ज्ञान, स्नेह, दुःख, आशा र स्मृतिको लेनदेन – यो सबै जीवन हो । मानिस स्वतन्त्र छ, तर पूर्णतः एक्लो छैन । ऊ आफ्नो शरीरभित्र एक्लै अनुभव गर्छ, तर उसका अनुभवका सामग्री संसारबाट आउँछन् ।

जीवनप्रतिको आशा सबै जीवमा हुन्छ । एउटा बिरुवाले प्रकाशतिर आफ्नो टुप्पो फर्काउँछ । घाइते जनावर पनि बाँच्न खोज्छ । मानिस त झन् बिहान आँखा खोल्नेबित्तिकै अनगिन्ती योजनाहरू बनाउँछ । जीवनबारे दर्शनका हजारौँ सिद्धान्त हुन सक्छन् । कसैले जीवनलाई दुःख भन्ला, कसैले आनन्द, कसैले कर्म, कसैले सङ्घर्ष, कसैले ईश्वरको लीला र कसैले केवल जैविक प्रक्रिया । तर यी सबै सिद्धान्तभन्दा पहिले एउटा प्रत्यक्ष अनुभव छ – म जीवित छु ।

यस अनुभवलाई म नकार्न सक्दिन । यो जीवन केवल सुखले बनेको छैन । यसभित्र आशा छ, निराशा पनि छ । प्रेम छ, घृणाको छायाँ पनि छ । सुख छ, दुःख छ। कामना छ, निष्काम हुने चाहना पनि छ । क्रोध उठ्छ, फेरि सहजता फर्किन्छ । लोभ जन्मिन्छ, त्यागको भावना पनि पलाउँछ । कहिले मनले धेरै खोज्छ, कहिले केही पनि नचाहिने अवस्था आउँछ । भोक लाग्छ, खाएपछि सन्तुष्टि हुन्छ । एक क्षणमा प्राप्त वस्तु अत्यन्त महत्त्वपूर्ण लाग्छ, अर्को क्षणमा त्यही वस्तु अर्थहीन हुन्छ ।

तर सुख कति भएपछि “पूर्ण सुख” हुन्छ? दुःखको सीमा कहाँ छ? सन्तोषलाई कुन तराजुमा जोख्ने? पूर्णता कति प्रतिशत भएपछि पूर्ण हुन्छ? मसँग यसको कुनै वैज्ञानिक नाप छैन । शायद मेरो अनुभव र ज्ञान नै मेरा पैमाना हुन् । हिजो असह्य लागेको कुरा आज सामान्य हुन सक्छ । आज अत्यन्त ठूलो उपलब्धि लागेको कुरा केही वर्षपछि सामान्य घटना बन्न सक्छ । त्यसैले जीवनको मूल्यांकन कुनै स्थायी मापदण्डले होइन, चेतनाको निरन्तर परिवर्तनले गरिरहेको हुन्छ ।

समयलाई हामी धेरै शक्तिशाली ठान्छौँ । “समय बित्यो”, “समय आयो”, “समयले बदल्यो” भन्छौँ । तर समयलाई आफैँ आफ्नो अस्तित्वको ज्ञान छैन । साच्चिकै भन्ने हो भने समयको (कालको) कुनै अस्तित्व छैन तेसैले प्रत्येक पैमानाहरू मेरा लागि हुन् । ती पैमानाहरू मैले निर्माण गरेका हुन् । ठाउँ पनि आवश्यकताको नामजस्तो लाग्छ । हामी कुनै स्थानलाई घर भन्छौँ, कुनै स्थानलाई परदेश । तर हाम्रो सम्बन्ध हटाइदिने हो भने ती केवल भूभाग रहन्छन् । कार्य–कारण हाम्रो बुद्धिका लागि आवश्यक सम्बन्ध हो । हामी हरेक घटनापछि सोध्छौँ – किन भयो? कसरी भयो? कसका कारण भयो? तर कारणले आफू कारण भएको बुझ्दैन, परिणामले आफू परिणाम भएको घोषणा गर्दैन । अर्थ हामी दिन्छौँ । अर्थ बुद्धिको सृष्टि हो, वस्तुहरूलाई अर्थ बुद्धिले दिने हो तर बस्तु व्यर्थ छैनन् ।

अर्थात् संसारमा जे–जति अर्थ छन्, तीमध्ये धेरै चेतनाले निर्माण गरेका अर्थ हुन् । र मेरो लागि जीवनको सबैभन्दा प्रत्यक्ष कसौटी यही चेतनामय शरीर हो ।

यस शरीरमा चेतना छ, त्यसैले आमा महत्त्वपूर्ण छिन्। मित्र महत्त्वपूर्ण छ। अपमान दुख्छ। सम्मानले मन प्रसन्न हुन्छ। स्मृतिले आँखा रसाउँछ। भविष्यले आशा जगाउँछ। विछोडले मन भारी हुन्छ। गीतले मन छुन्छ। प्रार्थनाले शान्ति दिन्छ। एउटा सानो शब्दले घाउ बनाउन सक्छ र एउटा सानो स्पर्शले वर्षौँ पुरानो पीडा कम गर्न सक्छ । तर यही शरीर चेतनाहीन भएपछि? त्यो शरीरलाई संसारले मेरो नामले केही समय बोलाउला, तर “म” ले त्यसको अनुभव गर्ने छैन । चेतनाविहीन शरीरमा न प्रशंसाको अर्थ रहन्छ, न अपमानको । न सम्पत्तिको, न प्रतिष्ठाको । न परोपकार अनुभव हुनेछ, न अपकार । संसारले सम्बन्ध सम्झिरहला, तर मेरो अनुभूतिमा सम्बन्धको अध्याय त्यहीँ बन्द हुनेछ ।

अवसानको क्षण केवल शरीरको अवसान होइन, मेरो अनुभवको संसारमा सबै सम्बन्धहरूको एकैचोटी अवसान हो। त्यसैले अहिलेको क्षण महत्त्वपूर्ण छ । म छु भने छु नै । मेरो अस्तित्वलाई कसैले अस्वीकार गरे पनि म अहिले आफ्नो अस्तित्व अनुभव गरिरहेको छु । कसैले स्वीकार गरे पनि मेरो अनुभव थप वास्तविक हुँदैन, अस्वीकार गरे पनि कम हुँदैन । म अस्तित्वको कुनै ठूलो दार्शनिक प्रमाण खोजिरहेको छैन । मेरो सास, मेरो अनुभूति, मेरो पीडा, मेरो आनन्द, मेरो चेतना – अहिलेका लागि यी नै पर्याप्त प्रमाण हुन् । भोलिको विषयमा म केही भन्न सक्दिन ।

दुई घण्टापछिको मेरो अस्तित्व सम्भावना हो । भोलिको बिहान विश्वास हो । अर्को वर्ष योजना हो । भविष्य अन्ततः अनुमान हो । मानिस भविष्यलाई नियन्त्रण गर्न योजनाहरू बनाउँछ, ज्योतिष खोज्छ, बीमा गर्छ, पैसा सञ्चय गर्छ, औषधि खान्छ, व्यायाम गर्छ, प्रार्थना गर्छ – तर भविष्य “भविष्य” रहेसम्म निश्चित वर्तमान बन्दैन । मेरो इच्छाले मात्र जीवन चल्दैन । अरूको इच्छाले पनि चल्दैन । भाग्यको नाम दिएर सबै कुरा बुझियो भन्न पनि सकिँदैन । जीवन चल्दाको मितिसम्म चल्छ । यही वाक्य मलाई कठोर होइन, अत्यन्त शान्त लाग्छ ।

म जीवनको यात्रामा अनावश्यक हस्तक्षेप गर्न चाहन्नँ। बाँच्नका लागि गर्नुपर्ने काम गर्छु। स्वास्थ्य जोगाउने प्रयास गर्छु । सम्बन्धहरू सम्हाल्छु । सिक्छु । लेख्छु । प्रेम गर्छु । सम्भव भएसम्म कसैको काम लाग्ने प्रयत्न गर्छु । किनभने जीवनप्रति म उदासीन छैन । मलाई पनि सर्वसाधारण मानिसलाई जस्तै भोलिको बिहान देख्ने आशा छ । मेरो सास राम्ररी चलिरहोस् भन्ने इच्छा छ । अझै केही मानिससँग भेट होस्, केही पुस्तक पढूँ, केही कुरा लेखूँ, केही अधुरा काम पूरा गरूँ भन्ने चाहना छ । तर चाहना र सत्य एउटै कुरा होइनन् ।मसँग भविष्यको अधिकारपत्र छैन ।

त्यसैले नचलेको दिन, नचलेको क्षण – यदि चेतना नै समाप्त हुन्छ भने – मसँग गुनासो गर्ने व्यक्ति पनि बाँकी रहने छैन । पश्चाताप गर्न “म” चाहिन्छ। गुनासो गर्न चेतना चाहिन्छ। त्यो नै नरहेपछि कससँग र केका लागि गुनासो? यसैले मृत्युको सम्भावनाले जीवनलाई निरर्थक बनाउँदैन बरु अहिलेको क्षणलाई अझ मूल्यवान् बनाउँछ । अहिले मसँग जे छ, म त्यसलाई अनुभव गर्न सक्छु । अहिले भेट्न सकिने मानिससँग भेट्न सक्छु । धन्यवाद भन्न सक्छु । क्षमा माग्न सक्छु । प्रेम गर्न सक्छु । कसैलाई मद्दत गर्न सक्छु । एउटा रूख हेरेर आनन्द लिन सक्छु । बिहानको घाम महसुस गर्न सक्छु । पुरानो साथीलाई सम्झन सक्छु । आमाबाबुको योगदानप्रति कृतज्ञ हुन सक्छु । आफ्ना कमजोरी स्वीकार गर्न सक्छु । आफूले पाएका अवसरहरूलाई अर्थपूर्ण बनाउन सक्छु । किनभने म गल्तिनै नगर्ने चेतनाहीन ढुङ्गो होइन । एउटा जीवन्त अस्तित्व हुँ ।

जीवनको सबैभन्दा ठूलो धन शायद यही हो – अनुभव गर्न सक्ने वर्तमान । अझै कति जीवनका खुड्किला बाँकी छन्, मलाई थाहा छैन । बाटो अब उकालो जान्छ कि ओरालो, थाहा छैन । कहाँ विश्राम मिल्छ, कहाँ ठेस लाग्छ, कसले साथ दिन्छ, को छुट्छ – थाहा छैन । मेरो मृत्यु कुन् खुड्किलोमा मेरो प्रतिक्षा गरिरहेको छ – मलाई थाहा छैन । मलाई, केवल एउटा तत्थ्य थाहा छ – म छु । आज म छु । आज सास छ । आज चेतना छ । आज सम्बन्धहरू छन् । आज आशा पनि छ ।

त्यसैले म भविष्यको भविष्यवाणी गर्नुभन्दा वर्तमानलाई अनुभव गर्न चाहन्छु । जीवनसँग अनावश्यक मोलतोल गर्न चाहन्नँ । आएको सुखलाई सुखका रूपमा, दुःखलाई दुःखका रूपमा, प्रेमलाई प्रेमका रूपमा र विछोडलाई विछोडकै रूपमा स्वीकार गर्दै हिँड्न चाहन्छु । भोलि जीवनले के लेख्छ, त्यो भोलिकै जिम्मा । आजको सत्य यत्ति हो-म छु । र जबसम्म सास चल्छ, जीवन चलिरहोस् । जब रोकिएला, त्यस क्षणसम्म हिँडेको बाटो नै मेरो सम्पूर्ण यात्रा हुनेछ । न बढी, न कम ।

जबसम्म चल्छ – चल्छ, चलिरहन्छ । मैले हस्तक्षेप गर्ने छैन ।